
बिर्तामोड, २६ पुस । झापामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । आइतबार पाँच जनामा कोरोना संक्रमण देखिएकोमा सोमबार २६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज झापाको बिर्तामोडमा ९, भद्रपुर र कमल गाउँपालिकामा ४–४, अर्जुनधारा र मेचीनगरमा ३–३, दमक, कनकाई र बुद्धशान्तिमा १–१ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
यसैबीच प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना संक्रमण भएको छ । ३३४ जनाको पीसीआर परीक्षण गर्दा ८५ र २५४ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका मोरङमा ५४, झापामा २६, सुनसरी र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५१, कानेपोखरी, कटहरी र उर्लाबारीमा १–१, सुनसरीको इटहरी र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ३०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



