
सन्तोष शर्मा
बिर्तामोड, ३० पुस । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला संक्रमितको उपचारमा महत्वूर्ण मानिने अक्सिनज हाल झापामा पर्याप्त मात्रा रहेको छ ।
झापाका सरकारी तथा निजी अस्पतालमा अक्सिनज प्लान्टसँगै अक्सिजन कन्सन्ट्रेटर मेसिन पर्याप्त रहेकाले जिल्लामा अक्सिजन पर्याप्त रहेको हो । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चम्लागाईंले पालिका तथा अस्पतालहरुमा अक्सिजन बनाउने मेसिन ‘अक्सिजन कन्सन्ट्रेटर’ पर्याप्त रहेको जानकारी दिए ।
‘जिल्लामा अहिले अक्सिजनको अभाव छैन, प्रायः अस्पतालाले आफूलाई चाहिने अक्सिजन आफैँ उत्पादन गरिरहेका छन्’, उनले भने, ‘जिल्लाका पालिकाहरुमा पनि अक्सिजन उत्पादन गर्ने मेसिन पर्याप्त छन् ।’
मेची प्रादेशिक अस्पताल भद्रपुरमा हाल दुई वटा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । अस्पतालमा दैनिक ३५ सिलिण्डर क्षमताको एक र ११० सिलिण्डर क्षमताको एक गरी दुई वटा अक्सिजन प्लान्ट छ ।
‘अस्पताललाई चाहिने अक्सिनज यहीँ उत्पादन भइरहेको छ’, अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले भने, ‘दुवै अक्सिजन प्लान्ट एकै पटक चलाउनु परेको छैन, आवश्यकता अनुसार चलाउने गरेका छौँ ।’ उनले अस्पतालमा अक्सिजन अभाव नरहेको बताए ।
त्यस्तै, बिर्तामोडको बीण्डसी, कनकाई लगायतका अस्पतालले आफूलाई चाहिने अक्सिनज आफैँ उत्पादन गरिरहेको फोकल पर्सन चम्लागाईंले बताए ।
हालै दमक अस्पलातमा प्रतिघण्टा ४० घनमिटर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट स्थापना गरिएको छ । दमक नगरपालिका मातहत सञ्चालित अस्पतालमा विश्व बैंकको सहयोगमा प्लान्ट स्थापना गरिएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् ।
झापाको कनकाई नगरपालिकाले पनि अक्सिजन प्लान्ट स्थापनाको काम अन्तिम चरणमा पु¥याएको छ । नगरपालिकाले एक करोड ३० लाख रुपैयाँको लागतमा ३६ घनमिटर क्षमताको अक्सिजन प्लान्ट स्थापनाको काम पनि अन्तिम चरणमा पुगेको हो । ‘टेण्डर लागिसकेको छ’, नगरप्रमुख राजेन्द्र पोखरेलले भने, ‘चाँडै प्लान्ट सञ्चालन आउँछ ।’
कोरोना महामारीका बेला जिल्लामा एकका लागि एक अभियानले समेत अक्सिजन बैंक स्थापना गरेर अक्सिजन चाहिएकाहरुलाई उपलब्ध गराउँदै आएको छ ।
बढ्दै छ संक्रमितको संख्या
झापामा पछिल्लो समय दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पुस २४ गते ५ जनामा, २५ गते ११ जना, २६ गते २६ जना, २७ गते १९ जना, २८ गते ३१ जना र आज २९ गते ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
मेची प्रादेशिक अस्पतालमा गरिँदै आएको पीसीआर परीक्षणमा दैनिकजसो ८÷९ जना संक्रमण देखिन थालेको छ । सूचना अधिकारी पोरखेल भन्छन्, ‘यसअघि परीक्षण गर्दा कहिले एक जना पनि देखिँदैन थियो भने कहिले एक÷दुई जनामा संक्रमण देखिन्थ्यो, तर अहिले बढेको छ ।’
कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय झापाले नौ बुँदे सूचना जारी गरेको छ । पुस २७ गते कार्यालयले कोरोना रोकथाम एवम् नियन्त्रणका लागि सूचना जारी गरेको हो ।
प्रशासनले सार्वजनिक स्थलमा भीड हुने कार्यक्रम नगर्न, सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न÷ नगराउन निर्देशन दिएको छ ।
सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्न र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था माघ ७ गतेदेखि लागू गर्ने, माघ ७ गते देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने र सो को प्रचार प्रसारको लागि सबै स्थानीय तहहरु, नेपाल रेडक्रस सोसाइटी, संघ संस्थाहरु र स्थानीय सञ्चार माध्यमहरु लगायत सबैमा अनुरोध गर्ने, नेपाल प्रवेश बिन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने झापा प्रशासनले आग्रह गरेको छ ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने गरेको निर्णयलाई कार्यान्वयन गराउन सरोकारलालाई अनुरोध समेत गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



