
बाँके, २१ भदौ । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीकी २६ वर्षीया अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ । बर्माको एक साताअघि घर नजिकैको नालीमा शव भेटिएको थियो । दाइजोका विषयमा घरायसी विवाद बढेपछि सासू, देवर र अर्का एकजना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ ।
माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार बर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् । मृतकको नालीमा डुबेर मृत्यु भएको भनिए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेकोले हत्या नै भएको माइती पक्षको दाबी छ । मृतककी भाउजू विन्दुकुमारी बर्माले भन्नुभयो, “शरीरमा हिलो पनि लागेको छैन, घरभित्र रगत लत्पतिएको छ । टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रयोग गरेको स्पष्ट देखिन्छ । यसलाई सामान्यरुपमा मृत्यु भएको कसरी भन्न मिल्छ ?”
दाइजो नल्याएको भन्दै पटकपटक विवाद भइरहने गरेको भए पनि १५ दिनअघि सासू र छिमेकी हरिहरप्रसाद तेलीलाई रातिको समयमा सँगै सुतेको देखेपछि विवाद बढेको भन्दै मृतक बर्माले माइती पक्षलाई समेत जानकारी गराएको भाउजू विन्दुले बताउनुभयो । उहाँले भन्नुभयो, “दाइजोका विषयमा त सधैँ घरायसी झगडा भइरहन्थ्यो, विगत केही महिनादेखि मृतककी सासू र छिमेकी हरिहरप्रसादसँगै सुतेको भेटेपछि विवाद बढ्यो । गाउँमा हल्ला फैलिन्छ भन्ने डरले हत्या गरिएको हाम्रो दाबी छ ।” श्रीमती अन्नुको मृत्यु भएपछि दुबईबाट घर फर्किएका श्रीमान्ले आफ्नी आमाको बचाउ गर्दै हत्यामा संलग्न नभएको दाबी गरिरहेका छन् ।
छिमेकी रामबाबु बर्माले घरभित्र हत्या गरी नालीमा फालिएको दाबी गर्नुभयो । “नालीमा डुबेर मृत्यु भएको भए घरभित्र रगतका टाटाहरु किन देखिए रु प्रहरीले किन घरभित्र खानतलासी नगरेरै घरटनास्थलको मात्रै मुचुल्का लियो रु” पत्रकारहरुसँग प्रश्न गर्दै बर्माले भन्नुभयो, “नालीमै डुबेको भए पनि शरीरमा हिलो वा फोहर त हुनुपथ्र्यो रु” मृतक अन्नुको शरीरमा हिलोसमेत नलागेकाले हत्या नै भएको बर्माको दाबी छ । उहाँले भन्नुभयो, “नालीमा डुबेकी अन्नुको टाउकोमा धारिलो हतियार प्रयोग गरिएजस्तो गहिरो चोट लागेको छ । शरीरभर नीलडाम छ, विभिन्न भागमा घाउ लागेका छन्, यो हत्या नै हो, सूक्ष्म अनुसन्धान होस् ।”
माइती पक्षको किटानीका आधारमा प्रहरीले सासू, देवर र छिमेकी हरिहरप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले भने यस विषयमा अनुसन्धान भइरहेकोले सबै कुरा भन्न नमिल्ने बताउनुभयो । उहाँले अनुसन्धानका क्रममा पीडक र अन्य छिमेकीको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


