
विराटनगर, २२ भदौ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश नं १ का सबै जनताले आफ्नो सुविधा सहज ढङ्गले प्राप्त गर्न सक्ने बताउनुभएको छ ।
प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकमा विशेष समयमा उहाँले प्रदेश सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । उहाँले प्रदेशसभामा प्रदेश सदस्यले उठाएको प्रश्नको जवाफ दिने क्रममा गएको साउन २७ गते विराटनगर महानगरपालिकाको कार्यालयभित्र भएको विष्फोटनमा संलग्न व्यक्ति पक्राउ परेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

उहाँले मोरङको लेटाङस्थित एक विद्यालयमा पानी खाएर बिरामी परेका विद्यार्थी उपचारपछि घर फर्केको र पानी ट्याङ्कीमा मिसाएको विषको विषयमा अझ छानबिन भइरहेको जानकारी दिनुभयो । कानूनमन्त्री कार्कीले जनताको गुनासोको आधारमा भएको बजार अनुगमनमा गलत अभ्यास गर्नेलाई कुनै पनि हालतमा नछाड्ने बताउँदै प्रदेश नंं १ को नाम र स्थायी राजधानी छिट्टै घोषणा हुने उल्लेख गर्नुभयो ।
सोही अवसरमा मन्त्री कार्कीले प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रस्ताव सदनमा प्रस्तुत गर्नुभयो । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
