
सन्तोष शर्मा
झापा, २७ फागुन । झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर बढेसँगै रोगीको संख्या पनि घट्दै गएको छ ।
सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान शुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको संख्यामा पनि कमी आएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिनुभयो ।
अभियान शुरु भएको वर्ष सन् २०१२ मा जिल्लामा ५५.५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ म ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्यांक छ । सन् २०१३ मा ६२.५, २०१४ मा ५७.८५, २०१५ मा ६०.८२, २०१६ मा ६२.५८, २०१७ मा ६८.०९, २०१८ मा ६५.३१, २०१९ मा ७१.४२, २०२० मा ६८.५१ र २०२१ मा ८५ प्रतिशतले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेका थिए ।
सर्वसाधारणमा रोगविरुद्ध सचेतना बृद्धि भएकाले पनि हात्तीपाइले विरुद्धको अभियान सफलता उन्मुख हुँदै गएको हो ।
जिल्लामा यस पटक ११औँ पटक आम औषधिसेवन अभियान शुरु हुँदैछ । फागुन २८ गतेदेखि शुरु हुने अभियानमा स्वास्थ्य कार्यालय झापाले सो संख्यालाई बृद्धि गरी शतप्रतिशतमा पु¥याउन लक्ष्य लिएको छ । औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १५ वटै स्थानीय तहमा विभिन्न गोष्ठी, छलफल सम्पन्न गरिएको फोकल पर्सन चम्लागाईंले बताउनुभयो ।
चालू आर्थिक वर्ष २०७८/०७९ मा २९२ जनामा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् । जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात्त र स्तन सुन्निएका ६ जना रहेका छन् । गत आव २०७६/०७७ मा जिल्लामा ३५१ जनामा हात्तीपाइले देखिएको छ । झापामा २४ प्रतिशत संक्रमण दर रहेकोमा अहिले घटेर २.३३ जनामा झरेको छ ।
कूल ९ लाख ३५ जनामध्ये झापामा यो वर्ष आठ लाख ४३ हजार जनालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ । ओछ्यान परेका बिरामी १० हजार, दुई वर्षमुनीका ३८ हजार र गर्भवति÷ ७ दिनसम्मका सुत्केरी ४५ हजार गरी ९२ हजार जनालाई औषधि सेवन नगराइने कार्यालयले जनाएको छ ।
औषधि सेवन गराउन स्वास्थ्यकर्मी र स्वम्सेवक छ÷छ सय परिचालन गरिने भएको छ । उनीहरुमार्फत् हात्तीइले विरुद्धको औषधि (डीईसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ । औषधि खुवाउने बेलामा छुटेका तथा रोगी ब्यक्तिहरु रोग निको भए पछि संबन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्ने कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले सरकारले हात्तीपाइले रोग निवारणका लागि वर्षेनि ठूलो लगानी गर्दै आएको बताउनुभयो । “हात्तीपाइलेकै लागि बर्षेनि ठूलो रकम खर्च भइरहेको छ”, उहाँले भन्नुभयो, “रोग निवारणमा सबै पक्षले सहयोग गर्न आवश्यक छ ।” यसले हात्तीपाइलेमा खर्च हुने बजेट अन्यत्र खर्च गर्दा देश विकासको अन्य क्रियाकलाप सकिने भएकाले रोग निवारणमा सबैले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
हात्तीपाइले लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । यसले हातखुट्टा सुनिने, अण्डकोष सुनिने गर्दछ । हात्तीपाइलेको जिवाणु नशामा छिरेपछि रक्तसञ्चार बन्द गरिदिने र बिरामीको मृत्युसम्म हुने सम्भावना हुन्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



