
भद्रपुर, २८ फागुन । झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान शुरु भएको छ ।
भद्रपुर नगरपालिकाको १० नम्बर वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अभियान शुभारुम्भ गरिएको हो । स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, सहायक प्रम्ुख जिल्ला अधिकारी चोलेन्द्र न्यौपाने, मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट टंक बाराकोटी, झापा प्रहरी प्रमुख विश्वमणि पोखरेल, भद्रपुर १० नं. वडा कार्यालयका कार्यवाहक अध्यक्ष तुलसी पोखरेल, स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरे, खोप अधिकृत इश्वरीप्रसाद पौडेल लगायतले सामूहिक रुपमा औषधि सेवन गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख जीवनकुमार श्रेष्ठले सरकारले सञ्चालनमा शंका नगरी हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न आग्रह गर्नुभयो । औषधिबारे छरिएको भ्रमका कारण पटक–पटक औषधि सेवन गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
डा. टंक बाराकोटीले हात्तीपाइले विरुद्धको औषधि स्थापित भएको बताउँदै उहाँले भ्रमको पछि नलागी औषधि सेवन गर्नुपर्नेमा जोड दिनुभयो । झापामा ११ औं पटक औषधि सेवन अभियान सञ्चालन भएकाले यसपटक पनि असफल भए ४ चक्कीबाट ९ चक्की औषधि खानुपर्ने अवस्था आउने बताउनुभयो । सहायक प्रजिअ न्यौपानेले औषधि सेवन गरेर अभियान सफल बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शिवराज राजभण्डारी, विरेन्द्र माविका शान्तिराम भट्टराई, खीलराज कोइराला लगायतको उपस्थिति रहेको थियो ।
आजदेखि शुरु भएको अभियान एक सातासम्म चल्ने छ । यस वर्ष झापा साढे आठ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा ९ लाख ३५ जनामध्ये आठ लाख ४३ हजार जनालाई औषधि सेवन गराइने जानकारी दिनुभयो ।
अभियान अन्तरगत स्वास्थ्यकर्मी र स्वयम्सेवक छ÷छ सय परिचालन गरिएको छ भने उनीहरुमार्फत् हात्तीपाइले रोगविरुद्धको औषधि (डीईसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ । औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्तिहरु रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



