
झापा, १२ असोज। झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ ।
आर्थिक अभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल र फाउण्डेशनबीच सम्झौता भएको हो । मंगलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बीच दुवै पक्षले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।
अनुप्रस्था फाउण्डेशनका निरन शाहीले आर्थिक अभावमा कोही पनि मर्नुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको बताउनुभयो । “विपन्न नागरिकमा उपचारको पहुँच नहुँदा अकालमै मर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “जो उपचारको पहुँचभन्दा टाढा छन्, उनीहरुको सेवा गर्नु हाम्रो मूल उद्देश्य हो ।”
अस्पतालका डाक्टर निराजन प्रसाईंले फाउण्डेशन मार्फत् सिफारिस भएर आउने बिरामीलाई रू ७० लाखसम्म निःशुल्क उपचार गरिने जानकारी दिनुभयो । क्यान्सर रोगविरुद्ध लामो समयदेखि आफूहरुले काम गर्दै आएको र सामाजिक उत्तरदायित्व अन्तरगत अनुप्रस्था फाण्डेशनसँग निःशुल्क उपचारको सम्झौता गरिएको उहाँले बताउनुभयो ।
आफ्नै ब्याण्ड रहेको अनुप्रस्थाले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा सांगीतिक प्रदर्शनीका क्रममा अस्पतालको प्रचार–प्रसार गर्ने र अस्पतालले एक वर्षमा अनुप्रस्थामार्फत् सिफारिस भएर आएका विपन्न क्यान्सर रोगीको निःशुल्क उचपार गर्ने सम्झौता पत्रमा उल्लेख भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो ।
अस्पतालले हालसम्म एक हजार ३०९ जना क्यान्सर रोगीको पहिचान गरी उपचार सहुलियतका लागि सिफारिस समेत गरेको उहाँले बताउनुभयो ।



