
विराटनगर, २६ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यस वर्ष रु छ अर्ब खर्च गर्ने बताउनुभएको छ ।
प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालयको सुनसरीको इटहरी–४ हलगाँडामा नवस्थापित कार्यालयको आज उद्घाटनका क्रममा उहाँले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने बताउँदै फराकिलो र गुणस्तर सडक एवं मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवासुविधामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै निर्देशनालयलाई प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिनेछ ।” सो अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलामो सेवा प्राप्त गर्न सकेकामा खुशी व्यक्त गर्नुभयो । प्रदेशका मुख्य सचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकारमुक्त हुने विश्वास दिलाउनुभयो ।
इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरी र प्रदेश यातायात पूर्वाधार भौतिक मन्त्रालयका सचिव सागर राईले प्रदेशका २५० र सङ्घीय एक हजार योजना तयार भई प्रदेशभित्र निर्माण शुरु हुने जानकारी दिनुभयो । नवस्थापित निर्देशनालयले प्रदेशका १४ जिल्लामा सडक तथा मोटर सञ्चालन हुने पक्की र झोलुङ्गे पुल निर्माणका लागि योजना स्वीकृति, बजेट निकासा, अनुगमन, निरीक्षण र नियमन आदि कार्य गर्नेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
