
विराटनगर, २२ कात्तिक । प्रदेश नं १ का कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले नेपालीका चाडपर्वले नेपालीबीच एकतामा बाँध्ने बताउनुभएको छ ।
प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङले आज यहाँ आयोजना गरेको देउसीभैलो कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहनुभएका कार्कीले प्रदेश सरकारले चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा बनाएको बताउँदै ढुक्क एवं हर्षोल्लाससँग चाडपर्व मनाउन प्रदेशवासीलाई अनुरोध गर्नुभयो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेकपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरले दीपावली विराटनगरका लागि महत्वपूर्ण रहेको बताउँदै अन्य स्थानमा भन्दा पनि यस क्षेत्रमा दीपावलीको बेग्लै महत्व र रौनक हुने गरेको धारणा व्यक्त गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आगामी पाँच वर्षभित्रमा विराटनगरलाई नमूना शहर बनाउने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले केही दिनभित्रै नेकपाले सबै कमिटी निर्माण गरिसक्ने जानकारी दिँदै यसका लागि गृहकार्य भइरहेकाले चाँडै तल्ला कमिटी निर्माण हुने बताउनुभयो ।
प्रेस चौतारी मोरङले हरेक वर्ष तिहारको अवसरमा देउसीभैलो खेल्दै आएको छ । यस वर्ष प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्तरूपमा देउसीभैलो खेलेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
