
झापा, १३ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानप्रदत्त अधिकार सदुपयोग गरेर मुख्यमन्त्री बनेको बताउनुभएको छ ।
नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रममा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताउनुभयो ।
“कांग्रेस सांसदहरुले प्रतिपक्षी भएर बस्नुपर्ने अवस्था आएपछि संविधानको सदुयोग गरेर मुख्यमन्त्री बनेको हुँ”, उहाँले भन्नुभयो, “संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रुपमा नबुझ्न म आग्रह गर्छु ।”
मुख्यमन्त्री कार्कीले प्रदेशबासीको अधिकतम हितमा हुने गरी प्रदेशका योजना चयन गरेर बजेट बनाइने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानून मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएका कार्कीलाई मुख्यमन्त्रीको रुपमा पाउनु पार्टी र कोशी प्रदेशबासीका लागि गौरवको विषय भएको बताउनुभयो ।
त्यस्तै, संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले ‘प्रदेशलाई अधिकार सम्पन्न र प्रदेश सरकार आवश्यक छ’ भन्ने जनभावना जागृत गराउने गरी काम गर्न सुझाव दिनुभयो ।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईंले गर्नुभएको थियो ।



