
कनकाई, २१ मंसिर । झापा कनकाई नगरपालिका–२ की ब्लड क्यान्सर पीडित बालिका पाँच वर्षीय मञ्जिला भुजेललाई आर्थिक सहयोग जुटाउने उद्देश्यले साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
अनुप्रस्थ फाउन्डेसन काठमाडौंको आयोजना र कन्काई मावि, कनकाई उद्योग वाणिज्य सङ्घ, ग्लोबल एडुकेयर एकाडेमी र शुरुवाती कोठा नेपालको सहआयोजनामा हुने कार्यक्रममा अनुप्रस्थ ब्याण्ड, नामग्याल लामा ब्याण्ड, विश्वास उप्रेती ब्याण्डको प्रस्तुतिका साथै भक्त विक, राजेश बस्नेत, अस्रफ डान्स सेन्टर लगायतका स्थानीय प्रस्तुति रहने गरी सांगीतिक कार्यक्रम हुन लागेको हो ।
महेन्द्र र चन्द्रकला भुजेलकी छोरी मञ्जिलाको उपचारका लागि ३० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । कन्काई माविको खेलमैदानमा आगामी मंसिर २३ गते शनिबार दिउँसो ३ः०० बजेदेखि हुने सांगीतिक कार्यक्रममा प्रवेश शुल्क १ सय, २ सय र ५ सय राखिएको छ । शोबाट खर्च कटाएर २ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ ।
मञ्जिलाको विगत अढाई महिनादेखि काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । उनको पहिलो र दोस्रो चरणको उपचार सकिएको, तेस्रो र चौथो चरणको उपचार गर्नुपर्ने पारिवारिकले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



