
झापा, २७ मंसिर । निर्वाचन हुनुभन्दा पहिले नै नेपाली कांग्रेसमा राष्ट्रिय सभा अध्यक्षका आकांक्षीले दौडधुप शुरु गरेका छन् । सत्ता गठबन्धनमा राष्ट्रिय सभा सदस्यको सिट बाँडफाँटको अन्तिम टुङ्गो नलाग्दै अध्यक्षका लागि कांग्रेसमा दौडधुप सुरु भइसकेको हो ।
आगामी फागुनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि सकिने भएपछि नेताहरूको ध्यान अध्यक्षमा छ । कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्षमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ । तर, कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले सिटौलाको नाममा माओवादी पनि सहमत रहेको दाबी गरेका छन् ।
सिटौला निकवर्ती थापाका अनुसार राष्ट्रिय सभाको अध्यक्षका लागि सिटौलाले आफ्नो समूहमा रहेका नेताहरूसँग छलफल गरिरहेका छन् । ‘सिटौला दाइ अहिले सरसल्लाहमै हुनुहुन्छ । अहिलेको राजनीतिक परिस्थिति, संविधान कार्यान्वयनमा चुनौती, राजनीतिक दलहरूबिच गर्नुपर्ने समन्वयात्मक भूमिकाका लागि उहाँ जतिको मान्छे अरू हुन सक्दैन । माओवादीको पनि समर्थन छ ,’ उनले भने ।
आफूहरूले नेतृत्व गर्ने गरी राष्ट्रिय सभा जान सुझाव दिएको थापाको भनाइ छ । गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा झापा–३ बाट पराजित हुनासाथ सिटौला राष्ट्रपति बन्ने दौडधुपमा थिए । सिटौलाले अन्तिमसम्म पनि प्रधानमन्त्री प्रचण्ड र सभापति देउवामाथि चर्को दबाब बढाएका थिए । प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसबाट सिटौलालाई उम्मेदवार बनाउन देउवालाई प्रस्ताव गरेका थिए । रातोपाटीबाट सम्पादित अंश



