
बिर्तामोड, २७ मंसिर । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण भेला सम्पन्न भएको छ ।
मंसिर १३ गतेदेखि शुरु भएको इकाइगत साधारणसभा आ बिर्तामोडमा एक कार्यक्रमका बीच अन्तिम माइन्युट प्रमाणीकरणसँगै सम्पन्न भएको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो ।

प्रमुख अतिथि ढकालले सहकारीकाे अवस्था राम्रो भएको बताउनुभयो । सन्चालन खर्च घटाउनु पर्ने र काराेबार बढाउनु पर्नेमा जाेड दिनुभयाे । सहकारी एकीकरण सबै सहकारीले जाेड दिनुभयाे । सहकारीकाे लगानी उत्पादन र आय आर्जनकाे क्षेत्रमा लगाउनु पर्ने र सदस्यले कर्जाकाे सदुपयोग गरे नगरेकाे सहकारीले हेर्नु पर्ने उहाँले उल्लेख गर्नुभयाे ।
कार्यक्रममा संस्थाका अध्यक्ष दंगालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको असार मसान्तसम्म सेयर पुँजी १८ करोड ८७ लाख ४८ हजार ७ सय, जगेडाकोष १ करो ८८ लाख १५ हजार ७८२, कुल संस्थागत पुँजी २ करोड ५ लाख ५० हजार २ सय, विभिन्न कोषहरु ५ करोड ६९ लाख ७८ हजार ५३५, कूल बचत एक अर्ब १४ करोड ११ लाख ६४ हजार ५८, लगानीमा रहेको कर्जा १ अर्ब ८४ करोड ७२ लाख ६ हजार ७९२ रहेको जानकारी दिनुभयो ।

संस्थाले आर्थिक तथा सामाजिक सहयोग अन्तरगत २० जना सदस्यले ५ लाख १७ हजार २२४ रुपैयाँ, सदस्य उपचार कोष अन्तरगत ३२ जना सदस्यले ४ लाख ६५ हजार ७९४ र ऋण सुरक्षण कोष अन्तरगत ६ जना सदस्यको ४ लाख १६ हजार ३०० रुपैयाँ ऋण रकम मिनाह गरिएको छ । त्यस्तै सहकारीले संस्था एकीकरण अन्तरगत कमल गाउँँपालिका–२ स्थित श्रुतीकृति महिला कृषि सहकारी संस्था र मोरङको पथरी–शनिश्चरे स्थित मत्स्य विकास समृद्धि बहुउद्देश्यीय सहकारी संस्थासँग एकीकरण समेत गरेको छ ।
कोशी प्रदेशको तीन जिल्लामा ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको हाम्रो नेपालमा आर्थिक वर्ष २०७९–०८० को असार मसान्तसम्म २० हजार ९८१ महिला र १४ हजार ९०३ पुरुष गरी ३५ हजार ८८४ जना सेयर सदस्य रहेको संस्थाका सहायक प्रबन्धक सरोज दाहाले जानकारी दिनुभयो । गत आवको असार मसान्तसम्म २० दशमलव ७९ प्रतिशत अर्थात् २३ करोड ९३ लाख ४ हजार ६२२ रुपैयाँ तरलता रहेको थियो भने कूल सम्पत्ति २ अर्ब २१ करोड ३५ लाख ५३ हजार ७५ रुपैयाँ रहेको जनाइएको छ ।
कार्यक्रममा विशेष अतिथि झापा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष उपेन्द्र प्रसाद ओली, बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक बिकास शाखा अधिकृत डिल्ली दाहालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष दंगालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष राजेन्द्र गाैतम र सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गर्नुभएको थियो ।



