
भद्रपुर, २७ मंसिर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २४ औं साधाराणसभा सम्पन्न भएको छ ।
भद्रपुर–९ स्थित मुना सामुदायिक भवनमा परिषद भेला मार्फत समूहको साधारण सभा सम्पन्न गरिएको हो । समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो ।
समूहको वार्षिक गतिविधि सहित नीति तथा कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दुर्गाप्रसाद भट्टराईले लाभग्राहीका लागि कृषि तथा भेटेनरी कार्यक्रमहरूमा विशेष लगानी गरेर हरित अर्थतन्त्रका लागि काम गरिरहेको र आगामी वर्षमा पनि निरन्तर गरिरहने बताएका छन् ।
कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, समूहका निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेल, सव डिभिजन वन कार्यलय झापाका अधिकृत राजु खड्का, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणि मैनाली लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको संंचालन सचिव पार्वती मल्ल र स्वागत उपाध्यक्ष गोकुल ढकालले गरेका थिए ।
सभाले आगामी वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदन गरेको छ भने वन संरक्षणका लागि स्थानीयसित हातेमालो गरेर अगाडि बढ्ने संकल्प पारित गरिएको छ ।


