
भद्रपुर, २९ मंसिर । झापाको दमक नगरपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
बिहीबार बेलुका ६ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दमक–७ हनुमान मन्दिरस्थित पशुहाटबाट बेलडाँगी जाँदै गरेको को १ ह ९७४५ नं. को अट्टोलाई चेकजाँच गर्दा अट्टोको डिकिमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५१ ग्रामसहित अट्टो चालक दमक–१ का ३५ वर्षीय प्रकाश श्रेष्ठ र अट्टोमा सवार सोही स्थानका २३ वर्षीय अर्जुन लिम्बू र उनकी श्रीमती २७ वर्षीय मनिसा लिम्बूलाई पक्राउ गरेको हो ।
अट्टोसहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


