
बिर्तामोड, ११ पुस । मनमोहन अस्पताल बिर्तामोडको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै उत्पन्न तनाव साम्य भएको छ । दोषीलाई कारवाही र मृतकका छोराछोरीलाई शिक्षादीक्षा दिने सहमति जुटेपछि तनाव साम्य भएको हो ।
अस्पतालले मृतकका छोराछोरीलाई कक्षा १२ सम्म अध्ययन गराउने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छनविन समिति बनाउने अस्पताल प्रशासन र पीडितपक्षबीच सहमति भएपछि समस्या समाधान भएको हो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्माण हुने समितिले तयार गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गर्ने सहमति जुटेपछि मृतकको शव आफन्तले बुझेको मृतकका भाञ्जा भवानीप्रसाद दंगालले बताए । अस्पताल प्रशासन र मृतकका आफन्तबीच इलाका प्रहरी कार्यालय अनारमनीमा मंगलबार भएको छलफलमा उक्त सहमति भएको उनले जानकारी दिए ।
पाँचथरको हिलिहाङ–३ घरभई स्थाई रुपमा बिर्तामोड–९ नडियाबारी बस्दै आएकी नर्वदा बाँस्कोटा घिमिरेको उपचारका क्रममा अस्पतालमा सोमवार बेलुका मृत्यु भएको परिवारले जनाएको छ । खुट्टा सुन्निएर सोमवार विहान ८ः३० बजे उपचारका लागि आफै हिँडेर अस्पताल भर्ना भएकी नर्वदालाई साँझ ५ः३० मा मृत घोषणा गरिएको मृतकका अर्का भाञ्जा युवराज घिमिरेले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



