
कचनकवल, १५ पुस । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
सहाकारीले सामाजिक उत्तरदायित्व अन्तरगत कचनकवल–२ सुकुनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयको प्रागंणमा आजदेखि स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिविर भोलि सोमबारसम्म चल्नेछ ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राजंवशीले स्वास्थ्य सेवा महँगो भइरहेको बेला सहकारीले स्वास्थ्य शिविर आयोजना गर्नु खुसीको कुरा भएको बताउनुभयो । उहाँले स्वास्थ्य विशिरबाट विपन्न समुदायका नागरिक लाभान्वित हुने बताउँदै शिविरबाट लाभ लिन गाउँपालिकाबासीमा आग्रह गर्नुभयो ।

नोबेल शिक्षण अस्पताल विराटनगरको प्राविधिक सहयोग र समाजसेवी सूर्यप्रसाद रिमालको सहकार्यमा शिविर गरिएको हो । नोबेल अस्पतालका मार्केटिङ अफिसर नविन दाहालको नेतृत्वमा अस्पतालका जेनेरल फिजिसियन डा. सुदीप सिंह, स्त्री रोग विशेषज्ञ दिपाली चौरसिया, बालरोग विशेषज्ञ सयिम आलम, सर्जन डा. अञ्जली साह, दन्त चिकित्सक एलिसा चापागाईं, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. राजेश राय र हाडडोर्जी रोग विशेषज्ञ डा. प्रकाश राय लगायत १७ जनाको चिकित्सकीय टोलीले शिविरमा स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

७६ वर्षीय जेष्ठ नागरिक हरिकृष्ण बजगाईंको स्वास्थ्य परीक्षणबाट शुरु भएको थियो । शिविरमा उपचारपछि थप उपचार गर्नुपर्ने भएमा नोबेल अस्पतालले २५ प्रतिशत छुट दिने मार्केटिङ अफिसर दाहालले बताउनुभयो ।
शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिने संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिनुभयो । संस्थाले सदस्यको आवश्कता अनुसार कृषि, स्वास्थ्य, शिक्षा, रोजगार लगायतको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो ।
अन्य वित्तीय संस्था भन्दा सहकारी पृथक भएको बताउँदै संस्थाका अध्यक्ष सुवास भट्टराईले सहकारी जन्मेदेखि मृत्युपर्यन्त सदस्यको साथी भएको बताउनुभयो । उहाँले सदस्य बिरामी हुँदा संस्थाले ५० प्रतिशतसम्म उपचार सुविधा दिँदै आएको उल्लेख गर्नुभयो । सदस्यहरुलाई संस्थाको उपचार कोषमा आबद्ध हुन समेत उहाँले आग्रह गर्नुभयो ।
संस्थाका कार्यकारी प्रमुख बस्नेतले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका जोखिम विभाग प्रमुख विजय बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुभद्रा अधिकारी, विव्यस सदस्य चित्र थापा, संस्थाका उपाध्यक्ष किरण कपुरी, सचिव इन्द्रबहादुर कार्की, कोषाध्यक्ष मेहरमान विष्ट, सदस्य लीला अधिकारी मुखिया, सदस्य नविन जोगी लगायतको आथित्य रहेको थियो ।
झापा, मोरङ, इलाम र पाँचथर जिल्ला गरी ५० वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको सहकारीमा ६१ हजार ३ सय ७९ जना शेयर सदस्य रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



