
झापा, २५ पुस । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । न्यायाधीश शिशिरराज ढकालले आज उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् ।
त्यसैगरी बलात्कार कसुरमा लामिछानेलाई ३ लाख जरिवानाका साथै पीडितलाई २ लाख क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ । गत पुस १३ गते न्यायाधीश ढकालको इजालासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।
यता, लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।
जबरजस्ती करणीको कसुरमा दोषी ठहर भएपनि लामिछानेले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार उनले यो सुविधा पाउने भएका हुन् ।


