
बिर्तामोड, २५ पुस । सातौँ राष्ट्रिय भाक्का दिवस यसपटक झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भएको छ । पुस २९ गते भव्यताका साथ दिवस मनाइने आज रंगशाला परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
राजवंशी समाज विकास समितिको आयोजनामा हुने भक्का दिवसको उक्त कार्यक्रममा झापा, मोरङ लगायतका स्थानबाट करिब ३० जना अतिथिको आगमन हुने समितिका अध्यक्ष अभय राजवंशीले जानकारी दिनुभयो । कोच राजवंशी समुदायको लोकपरिकार तथा सांस्कृतिक उत्सवका रुपमा रहेको राष्ट्रिय भाक्का दिवस कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती सहभागी हुने जनाइएको छ ।
तराईको जाडोयाममा भाक्का पर्यटनलाई समेत टेवा पुर्याउने र बाह्रै महिना जाडो हुने पहाडी र हिमाली क्षेत्रमा थोरै लगानीमा साना रोजगारका महत्वपूर्ण ढोकाहरु खोलिँदै गएको अध्यक्ष राजवंशीले बताउनुभयो । भाक्का दिवस दिन यसपटक १५० जना महिलाहरुले दुई हजार किलोग्राम चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन् । त्यस्तै एक हजार २ सय केजी सब्जी÷ अचार बनाइने जनाइएको छ । आउने अतिथिलाई निःशुल्क भक्का खुवाइने समेत जनाइएको छ ।
कार्यक्रममा भारतीय गायिका नीलञ्जना राय, सेलिब्रेटी सेफ सन्तोष शाह पनि आउने आयोजकले जनाएको छ । कार्यक्रममा पाँच सय जना कलाकारहरुको सामुहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहने राष्ट्रिय भाक्का दिवस सम्पन्न गर्न गरिब १२ लाख खर्चको आयोजकले अनुमान गरेको छ । मोरङका कोच समुदाय रहेको केही स्थान र झापाको भद्रपुर र राजगढमा पनि भाक्का दिवसको तयारी गरिएको जनाइएको छ ।


