
झापा, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले माघदेखि वार कि पारको आन्दोलन गर्ने बताएका छन् । उनले राप्रपाले गर्ने सडक आन्दोलनको रोड म्याप समेत खुलाएका छन् ।
३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संवैधानिक राजसंस्था, प्रदेशको खारेजी लगायतका माग राखेर सडक संघर्षमा जाने बताए । देशमा बढिरहेको भ्रष्टाचार तथा अहिलेको व्यवस्थामा भएका खराबीविरुद्ध आन्दोलन गर्ने उनले बताए ।
अध्यक्ष लिङ्देनले अहिलेदेखि नै आन्दोलनको तयारी गरेको बताउँदै फागुनदेखि वार कि पारको आन्दोलन हुने बताए । ‘माघ महिनाभरि तयारी गर्छौँ, फागुनदेखि राजधानी केन्द्रित आन्दोलन गर्छौँँ । देखिनेगरी ठूला–ठूला प्रर्दशनहरु आयोजना गर्छौँ । आन्दोलन विल्कुल शान्तिपूर्ण अहिंसात्मक रुपले जनदबाब सिर्जना गर्ने ढंगले हुनेछ’, उनले भने, ‘सरकारले दमन गर्यो भने त्यो भड्किन सक्छ, अहिले हामी त्यसको अनुमान गर्न सक्दैनौँ । हाम्रो तर्फबाट शान्तिपूर्ण हुनेछ ।’



