
झापा, २७ पुस । नेपाल विद्युत प्राधिकरणले महसुल नतिरेका उद्योगमा काटिएको विद्युत् पुनः सुचारु गर्ने निर्णय गरेको छ।
सरकारले छानबिन आयोग गठन गर्दै उद्योगमा बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले उक्त निर्णय गरेको हो। योसँगै विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियम महसुल नतिरेका ग्राहकहरुको विद्युत आपूर्ति जोडिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६०औं बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको हो। प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टीलले बक्यौता किस्ताबन्दीमा तिर्न सुरु गरेपछि लाइन जाडिएको थियो ।



