
बनियानी, २९ पुस । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
शिवसताक्षीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना र कमलमा दुई वटा मोटरसाइकल र एउटा स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो । ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् ।
शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १४ च ६६०३ न.को कार र विपरीत दिशाबाट आइरहेको मे १० प ७२१२ न.को मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का २३ वर्षीय अनुप ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । ढकालको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकलको पछाडि सवार मोरङ उर्लाबारी–१ का २१ वर्षीय प्रदीप बस्नेत घाइते भएका छन् । त्यस्तै, कार चालक बिर्तामोड–३ का ५० वर्षीय अनिलकुमार शाह, कारमा सवार बिर्तामोड–४ का ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड–३ का ४४ वर्षीय रञ्जन शाह र सोही ठाउँका ५३ वर्षीय ललित शाह घाइते भएका छन् ।
यसैबीच, शनिबार दिउँसो झापाको कमल गाउँपालिका–४ स्थित चुलाचुली मोडमा एक वटा स्कुटर र दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई रहेका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१ ६ प ८९९२ नम्बरको अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१६प ७१४० नम्बरको स्कुटरसमेत ठोक्किएको थियो ।
दुर्घटनामा परी प्रदेश १–०१–०१६प ८९९२ नं को मोटरसाइकल चालक कनकाई–५ का ५२ वर्षीय चन्द्रप्रसाद भट्टराई र सोही मोटरसाइकलको पछाडि सवार कनकाई–३ का ७० वर्षीय रघुनाथ भट्टराई घाइते भएका थिए ।
घाइतेमध्ये रघुनाथलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्का मोटरसाइकल चालक र स्कुटर चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।


