
भद्रपुर, २९ पुस । जिल्ला कारागार झापामा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको १८ स्थापना दिवसको अवसरमा शनिबार कैद भुक्तान गरिरहेका कैदीहरुको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ ।
जिल्लाका विभिन्न पुस्तक तथा स्टेसनरी व्यवसायीबाट संकलित १ लाख ५२ हजार ६३६ बराबरको पुस्तक, स्टेसनरी र खेल सामग्री कैदीलाई प्रदान गरिएको महासङ्घ झापाले जनाएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाका पदाधिकारीले कारागार भित्रै एक कार्यक्रमको आयोजना गरी कैदीलाई पुस्तक प्रदान गरेको हुन् ।
व्यवसायीले प्रदान गरेको पुस्तक तथा स्टेसनरी कारागारका आन्तरिक प्रसाशन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावती, उपाध्यक्ष भरत सार्की, सचिव रमेश पोख्रेल र अविरमण्डु माझीले ग्रहण गरेका थिए ।
व्यवसायीले विभिन्न विधाका पुस्तक प्रदान गरेको नेपाल पुस्तक तथा स्टेसनर व्यवसायी महासङ्घ झापाका उपाध्यक्ष खगेन्द्र गौतमले बताए । उनका अनुसार कथा, कविता, उपन्यास, यात्रा संस्मरण, नाटक, फुटवल, भलिवल लगायत जीवन उपयोगी पुस्तक प्रदान गरिएको हो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका झापा अध्यक्ष विनोद सापकोटाले जेलजीवनबाट मुक्त भएपछि नयाँ जीवनको सुरुवात गर्न र जीवन शैलि परिवर्तन गर्न यी पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘त्यसका लागि जेल जीवनलाई अध्ययनशील बनाउनुहोस् ।’
कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी जीवनलाई ज्ञानबद्र्धक बनाउन पुस्तकले सहयोग गर्ने अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष जीवन नेपालले कारागारका कैदीबन्दीको हातमा पुस्तक परेपछि उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्ने बताएका छन् । उनले पुस्तक मानसिक स्वास्थ्यका लागि पनि सहयोगी बन्ने अपेक्षा गरे ।
कार्यक्रममा बन्दी विकास पुस्तकालयका सचिव रमेश पोख्रेलले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाको प्रशंसा गरे । एक दिनको ८० र ७ सय ग्राम चामल सरकारले दिएको छ । सरकारको झिनो सुविधाले कारागार भित्र पुस्तक, खेलका सामग्री लगायत बन्दीका आधारभूत आवश्यकता पूरा नभइरहेको अवस्थामा पठन सामग्रीले आफूहरुलाई राहत दिएको उनले बताए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका केन्द्रीय सदस्य रविन बराल, प्रदेश उपाध्यक्ष राजकुमार दाहाल, झापा ४ का इकाइ अध्यक्ष दुर्गा घिमिरे र व्यवसायी महासङ्घका पदाधिकारीको सहभागिता थियो । झापा कारागार भित्र आयोजना भएको कार्यक्रमको सहजीकरण सचिव चन्द्रमणि घिमिरेले गरेका थिए ।


