
झापा, ४ माघ । प्रशासनले लिएको शुल्क अनुसार विद्यार्थीहरूलाई खानामा ठगी गरेपछि नेपाल मेडिकल कलेजका विद्यार्थीहरू क्याम्पस प्रशासन बिरूद्ध आन्दोलनमा उत्रेका छन् ।
गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले एक वर्षका लागि गुणस्तरीय खानेकुरा पाउने गरी शुल्क बुझाएको भए पनि सो अनुसार खाना नपाएपछि क्याम्पस प्रशासन बिरूद्ध चरणबद्ध आन्दोलन अन्र्तगत धर्नामा बसेका हुन् ।
कलेजमा रहेको क्यान्टिनले खानामा चरम लापरबाही गरेको विषयमा सुधार गर्ने गरी प्रशासन र विद्यार्थी बीच सहमति भए पनि कार्यान्वयन नभएपछि विद्यार्थीहरू धर्नामा उत्रेका हुन् । विद्यार्थीहरुले वर्षमा क्यान्टिन शुल्कका रुपमा एक वर्षको डेढ लाख रुपैयाँ भर्नासंगै सुरुमै बुझाउँदै आएको बताएका छन् । उनीहरुले भर्ना हुँदा नै क्यान्टिनको शुल्क बुझाइसकेकाले अब यो वर्षको बाँकी ६ महिना क्यान्टिनमै राम्रो खाना दिने ग्यारेण्टी गर्नुपर्ने र त्यसपछि क्यान्टिनमा कार्ड सिस्टम लागू गर्न माग गरेका छन् ।
कलेज प्रशासनले कलेजभित्रको क्यान्टिनको गुणस्तर सुधारमा ध्यान नदिएको र आफूहरुलाई बाहिर गएर खान समेत नदिएर दादागिरी गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले कलेजका अध्यक्ष, प्रबन्ध निर्देशक र प्रिन्सिपललाई यस विषयमा दशैँ अघिदेखि नै जानकारी गराएको भएपनि प्रशासनले यस विषयमा ध्यान नदिएपछि आइतबारबाट आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



