
कनका, ८ माघ । झापा कनकाई नगरपालिकाका स्वास्थ्यकर्मीलाई नयाँ गर्भनिरोधक तीन महिने सुई ‘साइना प्रेस’बारेमा प्रशिक्षण दिइएको छ ।
कनकाई नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरभरिका स्वास्थ्य संस्था र अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारले निःशुल्क रुपमा उपलब्ध गराउन थालेको नयाँ गर्भनिरोधक सुईका विषयमा प्रशिक्षण दिइएको हो । नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका पब्लिक हेल्थ नर्स सुनिता राईले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।
यसअघि दिइँदै आएको डिपोको विकल्पमा साइना प्रेस दिन थालिएको बताउनुभयो । यसअघि दिइँदै आएको तीन महिने सुई डिपोको तुलनामा राम्रो र कम साइडिफेक्ट रहेको उहाँले बताउनुभयो । औषधिको मात्रा र पावर कम भएकाले साइडिफेक्टसमेत कम रहेको उहाँको भनाइ छ ।

कनकाई नगरपालिकाका सिनियर अनमी टीका दवाडीले प्रजनन् उमेर समूहका सबै महिलाले सुईको प्रयोग गर्न मिल्ने बताउनुभयो । उहाँले शरीरका तीन स्थान पाखुरा, तिघ्रा र पेटमा सई लगाउन मिल्ने भएकाले महिलाहरुले आफैं सुईको प्रयोग गर्न सक्ने बताउनुभयो ।
नगरभरिका स्वास्थ्य संस्थामा सुई वितरण गरिएको बताउँदै उहाँले पायक पर्ने स्थानबाट महिलाहरुले सुइ लगाउन सक्ने समेत जनाउनुभयो ।
प्रशिक्षण कार्यक्रममा स्वागत एवम् औचित्यमाथि प्रकाश नगरपालिकाका सिनियर अहेव खगेन्द्र दंगालले गर्नुभएको थियो । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना संघीय बजेटको सशर्त कार्यक्रम अनुसार ‘परिवार नियोजन किशोर किशोरी तथा प्रजननन् स्वास्थ्य कार्यक्रम’ अन्तरगत गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



