
भद्रपुर, ७ फागुन । झापाको हल्दिबारी गाउँपालिका–२ स्थित रामलाल चोकमा गत शनिबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका हल्दिबारी–२ का ४२ वर्षीय दिनेश राजवंशीको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हल्दिबारी–२ रामलालचोक स्थित भद्रपुर–हल्दिबारी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ५०४६ नं. को ट्याक्टरले विपरीत दिशाबाट आउँँदै गरेको ना.१७ प १०३४ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका राजवंशीको प्रादेशिक अस्पताल भद्रपुर उपचारका क्रममा आज मृत्यु भएको हो । दुर्घटनापछि फारर भद्रपुर– २ का २३ वर्षीय सविन जोगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments Box


