
कनकाई, ८ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका साथ सोमबार फाउण्डेशनको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा आयोजित वार्षिकोउत्सवमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगरप्रमुख पोखरेलले शिक्षालाई नगरले प्राथमिकतामा राखी कार्य गर्दै आएको सुनाउँदै कक्षा १० सम्म पाठ्यक्रम निर्माण गरी अध्यापनको तयारी गरिरहेको बताउनुभएको थियो ।

उहाँले गरिब तथा अति विपन्नलाई छात्रवृत्तिको व्यवस्था गरेको सुनाउनु भएको थियो । पछिल्लो समय शिक्षकहरुलाई नै समय–समयमा तालिम प्रदान गरी नयाँ प्रविधिबाट अध्यापन हुन थालेसँगै नगरको योजना अनुसार नै सामुदायिक विद्यालयमा विद्यार्थी बढ्दै जान थालेको सुनाउनु भएको थियो ।
वार्षिकोत्सवमा फक्ताङलुङ एजुकेसन फाउण्डेसन आइडल सिजन १ को गायन तर्फको फिनालेमा विद्यार्थी शिखा सेञ्चुरी प्रथम, नामसाङ चेम्जोङ दोस्रो र प्रवेश संग्रौला तेस्रो बनेका छन् । न्युसन राई र दीपक रायमाझीले निर्णयको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी इना राई, हिमाल शिवाकोटी, उत्कृष्ट शिक्षक दुर्गा लुँइटेल, कुसुम भुजेल, उत्कृष्ट अभिभावक खगेन्द्र योङहाङ, विमला न्यौपाने, अमृत विश्वकर्मा, बविता उप्रेती, चन्द्रकला श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरी विद्यालयका कर्मचारी खिना गौतमलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।
कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय सदस्य सञ्जीव राई, कनकाई ७ का वडाध्यक्ष भिष्मभूषण सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रधानाध्यापक नेम्वाङद्वारा विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने स्वागत विद्यार्थी जिज्ञासा दाहालले गर्नुभएको थियो । औपचारिक कार्यक्रम विद्यालयका साहयक प्रधानाध्यापक लक्ष्मी अधिकारीले सञ्चालन गर्नुभएको थियो भने सांगीतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरू रिजन तिम्सिना र सुवास पौडेलले गर्नुभएको थियो ।


