
झापा, ९ फागुन । जग्गादाता डोमालाल राजवंशीको परिवारलाई उपेक्षा गरिएको भन्दै दाता परिवार र राजवंशी समुदायले झापा गोल्डकप र बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
झापा गोल्डकपको सचिवालयमा पुगेर उनीहरुले चार बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । जग्गादाता डोमालाल राजवंशीको शालिक निर्माण गरिनु पर्ने, डोमालाल राजवंशीले दिएको जग्गामा करोडांैको बजेटमा प्रतियोगिता गराइरहँदा दाता परिवारको हालको अवस्थालाई मनन् गरी यसै गोल्डकपमा कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनु पर्ने, डोमालाल राजवंशी रंगशालासंग सम्बन्धित गोल्डकप आयोजक समिति, संरक्षण समिति लगायतका समितिहरुमा दाता परिवारका एक जना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने र डोमालालको परिवारले चर्चेको जग्गा उनीहरुकै स्वामित्वमा हस्तान्तरण गरिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
दाता परिवारका तर्फबाट डोमालालकी छोरी ८० वर्षीया सम्पत्ति राजवंशी लगायतको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत डोमालालको शालिक निर्माण गर्नका लागि अर्डर गरिसकेको बताए ।
त्यस्तै गोल्डकपबाट डोमालालको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएकोमा बचत भएमा त्यसलाई थपेर एक लाखसम्म सहयोग गर्ने आश्वासन दिए । समितिहरुमा दाता परिवारका एकजना सदस्य र राजवंशी समुदायको प्रतिनिधित्व हुनुपर्ने मागप्रति पनि आफूहरु सकारात्मक रहेको उनको भनाइ थियो ।
सोही मागसहितको ज्ञापनपत्र बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पनि बुझाइएको प्रतिष्ठानका सचिव इन्द्रसिंह राजवंशीले बताए । राजवंशीका अनुसार नगर प्रमुख प्रसाईले ती मागका सम्बन्धमा कार्यपालिकाको बैठकमा छलफल गराउने आश्वासन दिएकी छन् ।
करिव १३ बिगाह जग्गा दान दिएका डोमालाल राजवंशीको परिवारको अवस्था अहिले अत्यन्त नाजुक रहेको छ । डोमालाल राजवंशी रंगशालामा यही फागुन १९ देखि छेटौं झापा गोल्डकप हुँदैछ ।


