
बिर्तामोड, ९ फागुन । झापाको बुद्धशान्ति गाउँपालिका–२ मा आत्मदाहको प्रयास गर्ने महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
बुद्धशान्ति–२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया माया रम्तेलले गत फागुन ४ गते आफ्नो पाँच वर्षीया छोरी वर्षालाई शरीरमा सलले बाँधेर पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी थिएन् ।
बालिकाको फागुन ५ गते बिहान उपचारका क्रममा मृत्यु भएको थियो भने मायाको आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।
फागुन ४ गते राति ९ः२० बजे शरीरमा आगो लगाएको अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मायाले आफ्नो श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नुपरेको भन्दै लेखेको ‘सुसाइड नोट’ समेत प्रहरीले फेला परेका थियो ।
शरीरको सम्पूर्ण भाग जलेर गम्भीर अवस्थामा रहेकी मायाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । प्रादेशिक अस्पतालमा आज बिहान मायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मायाका श्रीमान राजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


