
बिर्तामोड, १० फागुन । सरकारले समेत प्लाष्टिकको उचित ब्यवस्थापन गर्न नसकिरहेको अबस्थामा बिर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनमा अध्ययनरत् बिद्यार्थीले फालिएका प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् ।
थोत्रा प्लाष्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा सहभागी अभिभावक छक्क परेका थिए । कक्षा–११ र १२मा अध्ययनरत् विद्यार्थीले पाइरोलाइसिस प्लाष्टिक प्लान्ट प्रविधिमार्फत खेर गएको प्लाष्टिकलाई प्रयोग गरेर पेट्रोल बनाउन सकिने सन्देश दिएका हुन् । वाल्मीकि एजुकेशन फाउण्डेशनमा बुधवार ‘स्टेम फेष्ट’ (साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ, आर्ट, म्याथ फेस्टिवल) कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केही विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनााएर देखाएका हुन् ।
त्यस्तै अन्य बिद्यार्थीले समेत आ– आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय परिसरमा आयोजना गरिएको ‘स्टेम फेष्ट’को उद्घाटन बिर्तामोड नगरपालिकी प्रमुख पवित्रादेवी महतरा प्रसाईले पानसमा दीप प्रज्वलन गर्दै गरेकी थिइन् । यस अघि विद्यालयको गेटमा रहेको रिवन मोवाइल एपद्वारा कन्ट्रोल गर्दै रोवटले काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले विद्यालयका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा तथा मनोरञ्जन गर्दै सिक्न सकिने भन्दै विद्यालयले बृहत् रुपमा विज्ञान प्रविधि, गणित, कम्प्युटर, कला, गणित, खानेका परिकार, नाचगान, हस्तकलाका सामग्री प्रर्दशनी गरिएको बताए । विद्यालयमा आयोजित कार्यक्रममा दुई सयभन्दा धेरै विद्यार्थीले एकैपटक एउटै स्टेजमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल, न्यूटन्स एजुकेशनका प्रिन्सिपल देवेन्द्र हुमागाँई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन जीवन आचार्य र आशिष कार्कीले गरेका थिए ।


