
चन्द्र बस्नेत
कनकाई, ११ फागुन । बुधबारदेखि हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरु गर्नुभएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको कनकाई नगरपालिकामा स्वागत गरिएको छ । साथै, ध्यानाकर्षण तथा सुझाव दिइएको छ ।
हात्ती प्रभावित जिल्लाहरूको २ सय ४३ किलोमिटरको पदयात्रामा निस्कनुभएका मुख्य मन्त्री कार्की, पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, पर्यटन वन तथा वातावरण सचिव विशाल घिमिरेलाई कनकाईको उत्तरी भेगमा वर्षेनी हात्तीका कारण जन–धनको क्षति हुने गरेको भन्दै यसलाई न्यूनीकरण र रोकथामका लागि गरिएको मुख्यमन्त्रीको यो नौलो प्रयासको कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत सहित ध्यानाकर्षण र सुझाव पनि दिनुभएको छ ।
कार्यक्रममा नगर प्रमुख पोखरेलले मुख्यमन्त्रीसहित पदयात्रामा सँगै हिँड्दै कनकाई हात्ती प्रभावित क्षेत्र र यहाँको अन्य समस्याहरु चुरेको संरक्षण, पर्या पर्यटन विकास तथा प्रवद्र्धन, वन्यजन्तुको संरक्षणका लागि उचित व्यवस्थापन, नदीनाला नियन्त्रणको बारेमा समेत मुख्यमन्त्रीको टोलीलाई ध्यानाकर्षणसहित यी क्षेत्रको विकासका लागि सुझाव पनि दिनुभएको हो ।
कनकाई नगरपालिका–१ स्थित प्रजापति सामुदायिक वन उत्तरमा रहेको पर्यटकीयस्थल खानेपानी ट्याङकी परिषरमा भएको एक कार्यक्रमकाबीच नगर प्रमुख पोखरेल, प्रजापति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मातृकाप्रसाद पोखरेल, कनकाई वडा न १ का अध्यक्ष सुशीलकुमार पोखरेल, वन समुहका सचिव कनकाई वडा १ न वडा सदस्य हरिकुमार राई, निर्मला खड्का, संगीता ल्वागुन, दलबहादुर थापा, विभिन्न संघ–संस्था, टोल तथा वन समूहका पदाधिकारी लगायतले मुख्य मन्त्री कार्कीसहितको टोलीलाई ध्यानाकर्षण तथा सुझाव दिएको थियो ।
सोही क्रममा कनकाई–१ स्थित प्रजापति सामुदायिक वन उत्तरमा रहेको पर्यटकीय स्थल खानेपानी ट्याङकी परिषरमा प्रजापति सामुदायिक वन समूहका अध्यक्ष मातृकाप्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री कार्कीले हात्ती र मानवबीचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरु गरिएको बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना प्रदेश सरकारको रहेको पनि सुनाउनु भएको थियो ।
वडाध्यक्ष सुशीलकुमार पोखरेलले हात्तीको क्षतिका साथसाथै यहाँको पर्या पर्यटन, भौतिक पूर्वाधारका क्षेत्रमा पनि नगर र वडाको बजेटले मात्रै धान्न नसकिने भन्दै प्रदेशबाट पनि उक्त शीर्षकका लागि बजेट बिनियोजन गरिदिन आग्रह गर्नुभएको थियो ।
कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर हात्ती आवतजावत गर्ने क्षेत्रमै मुख्यमन्त्री कार्कीले पदयात्रा तय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल २ सय ४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । बाहुनडाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुरको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।


