
बिर्तामोड, ११ फागुन । बिर्तामोडका उद्योगी–व्यवसायीको अभिभावकीय संस्था उद्योग बाणिज्य संघमा व्यवसायीको हितमा समर्पित हुने उद्देश्यका साथ बिर्तामोडका युवा व्यवसायी युवराज निरौला होमिएका छन् । मोबाइल पार्टस् तथा एशोसेरिजको व्यवसायमा आवद्ध निरौला बिर्तामोडका परिचित युवा व्यवसायी हु्न ।
१६ वर्षदेखि व्यापार क्षेत्रमा क्रियाशील उनी बिर्तामोडका सबैखाले परिस्थितिहरु बारे जानकार रहेको बताउँछन् । व्यवसायीले भोग्दै आएको दुःख, अप्ठ्याराहरु मसिनो गरी बुझेका निरौलासँग बिर्तामोड उद्योग बाणिज्य संघको कार्यसमितिमा रहेर केही गर्ने गर्ने अठोटका साथ चुनावी मैदानमा होमिएका हुन् । यहाँका सानादेखि ठुला खाले समस्याहरु, सम्भावनाहरु महसुस गरेका समाधानको लागि बृहत योजना निर्माण गर्ने उनको कथन छ ।
आगामी फागुन १४ गते हुने निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका उनी यतिबेला चर्चामा छन् । स्वदेशमै बसेर व्यवसाय क्षेत्रबाट सफलता हासिल गर्ने अठोटका साथ लागेका उनले मोबाइल व्यापारको बजारमा पछाडि फर्किनुपर्ने अवस्था छैन । जसरी व्यापार क्षेत्रमा योजनाबद्ध रुपमा लागे, त्यसैगरी व्यवसायीको पक्षमा लाग्ने उनले सुनाए ।
‘बिर्तामोडमा व्यापारीहरुलाई सुरक्षा चुनौति छ । शान्तिपूर्ण रुपमा व्यापार गरेर गन्तव्य सम्म पुग्न सक्ने बिर्तामोडको परिकल्पना मैले गरेको छु’, निरौलाले भने, ‘सबैभन्दा ठुलो समस्या भनेको व्यवसायीबीचको द्वन्द्व पनि हो । बिर्तामोडको उन्नयन र विकासका लागि सर्वप्रथम व्यवसायिक एकता मुख्य आधार हो । व्यवसायीहरुबीचको एकता बलियो बनाउने काम मेरो पहिलो प्राथमिकतामा छ । यहाँको व्यवसाय र बजारको विकास तथा प्रवद्र्धनको निमित्त पहिलो आधार भनेकै एकता हो ।’
उनी थप्छन्, ‘व्यवसायीबीचको एकताले मात्रै प्रगति हासिल गर्न सकिन्छ । बिर्तामोड बनाउनका वा बचाउनका लागि एकता अतिआवश्यक छ । कोषाध्यक्ष पदका उम्मेदवार निरौलाका अनुसार बजारमा अहिले उधारोका कारण धेरै व्यवसायीहरु पलायन हुने अवस्था छ । त्यसको सहजीकरण गर्न संघको तर्फबाट सानो संयन्त्र नै बनाउने योजना पनि छ । रातभर होइन, सुरुवाती चरणमा ९ बजेसम्म बजार खुल्ला गरेर व्यापार गर्न सकिन्छ ।’
होटल व्यवसायमा शान्ति सुव्यवस्थाको प्रबन्ध मिलाउनका लागि सरोकारवाला, सुरक्षा निकायसँग रचनात्मक योजना निर्माण गर्ने सोच छ । घरधनी र व्यवसायी बीचको सम्बन्ध सुधार गर्दै व्यवसायमैत्री बनाउन समन्वकारी भूमिका निभाउने, बजारलाई सातै दिन खुल्ला गर्न व्यवसायीसँग परामर्श गरेर अघि बढ्ने योजना रहेको उनको भनाई छ । देशबाट ठुलो संख्यामा युवाहरुको पलायन भइरहेको छ । त्यसको दोष वाणिज्य संघलाई पनि जान्छ ।
युवा तथा व्यवसायीहरुलाई स्वदेश मै व्यापार व्यवसाय गर्ने वातावरण बनाउन वाणिज्य संघको भूमिका उत्तिकै प्रभावकारी हुनुपर्छ । मेरो उम्मेदवारी युवालाई स्वदेशम संभावना देखाउनलाई पनि हो । युवा जति विदेश लागेपछि यहाँ सबै क्षेत्रमा त्यसको असर पर्छ । त्यसैले युवालाई व्यवसायमा संभावना देखाउने अर्को योजना छ । सरकारी निकायबाट व्यवसायीमाथि ज्यादती छ । कतिपय बुझाई नभएको अवस्थामा त, कतिपय समन्वयको अभावले समस्याहरु आइरहेका हुन्छन् ।
निरौला भन्छन्, ‘सबै समस्याहरुको समाधान समन्वयबाट सम्भव छ । अझ, कोषाध्यक्षको लागि उम्मेदवारी दिनु भनेको पारदर्शी र जवाफदेहिताका लागि हो । कुनै पनि संस्था पारदर्शी हुँदैन भने त्यो सफल हुन पनि सक्दैन । मैले नेतृत्व गरेका सबै क्षेत्र पारदर्शी बनाएको छु ।’
०४६ साल जेठ २० गते बिर्तामोडमा जन्मिएका निरौलासँग मोवाइल एशोसिएसको अध्यक्ष, नेपाल राष्ट्रिय वाणिज्य संघको सहसचिव, नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको नगर अध्यक्ष र शिक्षा बहुद्देश्यीय सहकारी संस्थाको लेखा समिति संयोजकको रुपमा काम गरेको लामो अनुभव छ ।


