
झापा, ११ फागुन । झापा गोल्डकप र यती ब्रुअरीबीच सम्झौता भएको छ । झापा गोल्डकपको छैटौं संस्करणको टाइटल स्पोन्सरका लागि उनीहरुबीच सम्झौता भएको छ ।
झापाको बिर्तामोड–२ चारपाने स्थित सहारा नेपाल साकोसको सभा हलमा आज मुख्य प्रायोजक संस्था र झापा गोल्डकपबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र यती ब्रुअरीका कोशी प्रादेशिक मेनेजर बिदुर तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा यती ब्रुअरीका सेल्स मेनेजर सरोज खतिवडा, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव तथा भद्रपुर नगरका निवर्तमान मेयर जीवनकुमार श्रेष्ठ, भद्रपुर–८ का वडाध्यक्ष गौरब सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
झापा गोल्डकप सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बस्नेतले बताए । धन हुनेले धन र मन हुनेले मनबाट साथ र सहयोग गर्न अध्यक्ष बस्नेतले आग्रह गरे । कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य तथा सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए । गोल्डकप यही फागुन १९ देखि २८ गतेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ ।


