
चन्द्र बस्नेत
कनकाई, १२ फागुन । झापाको कनकाई नगरपालिका ३स्थित सुरुंगामा पहिलो पटक पर्सि सोमबारबाट आयोजना हुने तिन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पुर्ण तयारी पूरा भएको छ।
रोटरी क्लब अफ कनकाई सुरुंगाकोे आयोजनामा पर्सि फागुन १४ सोमबार देखि १६ गते बुधबार सम्म चल्ने महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो । कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लवका अध्यक्ष कडेलले बताउनुभयो ।

साहित्यकार कोमलप्रसाद पोखरेल, बुद्धदेवप्रसाद घिमिरेलगायतका श्रस्टाहरुको अगुवाइमा स्थापना भएको कनकाई प्रतिभा प्रतिष्ठानलाई चलायमान बनाउन, कनकाई नगरमा रहेका सर्जकहरू चित्रकार पवन राजवंशी, मुर्तीकार हिम्मतबहादुर नेम्वाङलगायतको कलाको सम्मान र प्रर्वद्धन गर्न, कला, संस्कृति र साहित्य क्षेत्रमा अघि बढ्न खोजी रहेका नव प्रतिभाहरूलाई प्रोत्साहन गर्न सघाउन पुर्याउने उद्देश्यले साहित्य महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष कँडेलको भनाई छ ।
महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू महोत्सवमा समावेश हुने भएको छ । स्थानीय विविध जात(जातीहरूको भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको संरक्षणमा महोत्सवले टेवा पुर्याउने कनकाई वासी तथा आयोजक सस्था रोटरी क्लब अफ कनकाई सुरुङ्गाको विश्वास पनि रहेको छ ।
महोत्सवको पहिलो दिन बिहान ११ बजे सुरुंगा बजारमा प्रभातफेरी गरेर सुरु हुने महोत्सवमा तीन दिन सम्म विभिन्न एक दर्जन भन्दा बढी कार्यक्रमहरू तय गरिएको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिनुभयो ।
आयोजकले प्रभातफेरी पछि दैनिक रुपमा फरक फरक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको क्लबका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो । महोत्सव अवधिभरमा साहित्य कोष्टी, ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन प्रशिक्षण, हास्यव्यङ्ग्य सहित सांस्कृतिक कार्यक्रम समेत राखिएको आयोजक संस्थाका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
हास्यव्यङ्ग्य सहित सांस्कृतिक कार्यक्रम पुस्तक मेला, पुस्तक डोनेशन, स्टलहरुमा व्यवसायिक गतिविधि भने तिन दिननै सञ्चालन हुने संस्थाका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
अन्य कार्यक्रमहरूमा शिक्षक स्वं साहित्य सर्जकहरूका लागि कविता लेख प्रशिक्षण, जिल्ला स्तरीय साहित्य गोष्ठी, १२ वर्ष उमेर समूहका ले भागलिन सक्ने गरि कविता वाचन, जातीय भेषभूषा प्रदर्शन र राष्ट्र स्तरको साहित्य गोष्ठीलगायतका कार्यक्रमहरू रहेको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिनुभयो ।
साहित्य महोत्सवमा अग्रज साहित्यकारहरु तुलसी दिवस, अर्जुन पराजुली, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, प्राध्यापक डाक्टर देवी नेपाल, कवि मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल लगायत सुपरिचित स्रष्टा कलाकारहरूको कार्यक्रममा उपस्थित रहने आयोजक संस्थाका पुर्व अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
महोत्सव सञ्चालनका लागि रोटरी क्लब अफ सुरुङ्गाका सदस्य अखिलकुमार कोइरालाको संयोजकत्वमा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कँडेल, निवर्तमान अध्यक्ष खेमप्रसाद प्रसाईँ, प्रेसिडेन्ट इलेक्ट लुबराज उप्रेती, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, प्रेसिडेन्ट नोमिनी डिल्ली मैनाली, पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, सुशीलकुमार श्रेष्ठ, टीका जमरकट्टेल र रोट्याक्ट क्लब अफ कनकाई सुरुङ्गाका सचिव दिवाकर तिवारी रहेको मुल समिति गठन गरि तयारी तिब्रता पारिएको थियो।
स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरी समुद्घाटन हुने र राष्ट्रिय स्तरका दर्जनौँ कवि, कलाकार, हास्यकलाकार, गायक तथा संस्कृतिकर्मीहरूको उपस्थितिमा भव्य समापन गरिने उक्त महोत्सवमा हरेक दिन बिहानदेखि साँझसम्म कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक डोनेसन, राष्ट्रिय वेशभूषा प्रदर्शनी, व्यावसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण आदि कार्यक्रमहरू रहेकोे प्रचारप्रसार संयोजक रामप्रसाद निरौलाले जानकारी दिनुभयो ।
स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्यसम्बन्धी बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सुरु गरिएको यस महोत्सवमा विभिन्न चरणका प्रशिक्षणात्मक कार्यक्रमहरू पनि हुने छन् । पहिलो दिन १४ गते महोत्सवको उद्घाटनपछि छ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरू लक्षित ‘कविता लेखन प्रशिक्षण कार्यक्रम’को आयोजना गरिने छ भने दोस्रो दिन १५ गते विभिन्न विद्यालयका शिक्षकहरू, स्थानीय स्रष्टाहरू तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू लक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम’को आयोजना गरिने छ । यसरी नै तेस्रो दिन १६ गते बिहान १२ वर्षमुनिका बालबालिकाका बिचमा अग्रज कविहरूद्वारा लिखित छन्दकविताहरूको वाचन कार्यक्रम रहेकोे प्रचारप्रसार संयोजक निरौलाले जानकारी दिनुभयो ।
यी तीनवटै प्रशिक्षणमूलक कार्यक्रमको सहजीकरण सिर्जनात्मक लेखनका केन्द्रीय प्रशिक्षक कवि तथा समालोचकद्वय प्रा।डा। देवी नेपाल र प्रा।डा। रामप्रसाद ज्ञवालीले गर्नुहुने भएको छ ।
महोत्सव सम्पन्न गर्न करीव २५ लाख ४५ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । आयोजक संस्थाका पुर्व अध्यक्ष पोखरेलले महोत्सवमा जाने सहभागीहरूलाई कुनैपनी प्रवेश शुल्क नलाग्ने पनि स्पष्ट पार्नुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सामाजिक कार्यहरूमा अतुलनीय योगदान दिँदै आएको रोटरी क्लबजस्तो संस्थाले साहित्यिक तथा सांस्कृतिक महोत्सव नै आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य भन्दै कनकाई तथा झापा बासी कार्यक्रम सफल पार्न लागिपरेका छ्न । यस्तो ऐतिहासिक कार्यको प्रशंसा गर्दै र यस कार्यको अनुकरण अन्य संस्थाले पनि गर्नुपर्छ भन्ने सन्देश दिँदै विभिन्न साहित्यकार तथा संस्कृतिकर्मीहरूले खुसी व्यक्त गरिरहेका छ्न। उक्त महोत्सवलाई भव्य, सभ्य र ऐतिहासिक बनाउनका लागि झापा जिल्लाभरिका मात्र नभएर राष्ट्रिय स्तरका साहित्य, कला र संस्कृतिकर्मीहरूलाई आमन्त्रण गरिएको छ भने सहभागिताका लागि सबैमा सार्वजनिक आह्वान गरिएको पनि गरिएको छ।


