
बिर्तामोड, १२ फागुन । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखामा वनभोज खाएर दमकतर्फ फर्किने क्रममा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
कमल गाउँपालिका, दमक र उर्लाबारी नगरपालिका अन्तर्गत रहेको निजी अस्पतालका स्वास्थ्यकर्मी भोनभोज खाएर फर्कने क्रममा शनिवार सवारी दुर्घटना भएको थियो । दमकतर्फ जाँदै गरेको को १ ख ६३०५ नं को बसमा शिवसताक्षी–१० किरात चौकस्थित पुर्व पश्चिम राजमार्गमा आफैँ अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते हुनेहरुमा मोरङ उर्लावारी–६ का ४६ वर्षीय ताराप्रसाद अधिकारी, उनकी श्रीमती ४३ वर्षीया उमा खनाल, सोही स्थानका ५५ वर्षीयबहादुर चौधरी, उनकी श्रीमती ५३ वर्षीया पबित्रा लामिछाने, उर्लाबारी–४ की ३६ वर्षीया बन्दना प्रसाई, सोही स्थानका २५ वर्षीय महेश नाथ र उर्लाबारी–६ की ३० वर्षीय कल्पना कडेल छन् । उनीहरुको अवस्था सामान्य रहेको र अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयबासीले तत्काल इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराउन साथ प्रहरी टोली घटना स्थालमा पुगेको थियो । बसमा सवार ३०÷३५ जना मध्ये ७ जना सामान्य घाइतेहरुलाई उद्धार गरी उपचारको लागि अस्पतालतर्फ पठाइएको थियो । बस घटनास्थलमै रहेको र उठाउने पहल भइरहेको साथै बस चालक मोरङको उर्लावारी–५ का ४१ वर्षीय चन्द्रकुमार फुयाल इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


