
झापा, १२ फागुन । धनकुटाको सागुरीगढीमा प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । सागुरीगढी गाउँपालिका–३ बाट झापाको हल्दिबारी–१ स्थित मुक्तिघाट समाज सेवाद्वारा सञ्चालित मे १ च २०३२ नम्बरको एम्बुलेन्सबाट प्रहरीले गाँजा बरामद गरेको हो ।
उक्त एम्बुलेन्समा धनकुटाबाट सुनसरीतर्फ ल्याउँदै गरेको ५२ किलो लागूऔषध गाँजासहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय भेडेटारमा खटिएको टोलीले चेकजाँचको क्रममा एम्बुलेन्सबाट गाँजासहित बिराटनगर–८ का जयदेवचन्द्र चेललाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । एम्बुलेन्सको टुल बक्सभित्र लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको थियो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ भने एम्बुलेन्स र पक्राउ परेका जयदेवचन्द्रलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।


