
चन्द्र बस्नेत
कनकाई, १३ फागुन । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा पहिलो पटक भोलिबाट आयोजना हुने तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा भोलि सोमबारदेखि १६ गते बुधबार चल्ने महोत्सवको सबै तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो । तीन दिवसीय कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको उद्घाटन वरिष्ठ अभिनेता नीर शाहले गर्ने भएका छन् ।
कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उद्येश्य रहेको क्लबका अध्यक्ष कडेलले बताउनुभयो । कनकाई नगरपालिका–३ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गडमा आयोजना हुने महोत्सव स्थल बेहुली झैं सिङ्गारिएको छ। महोत्सव स्थलमा आउने आगन्तुक पाहुनाहरुलाई स्वागतका लागि आयोजक संस्था रोटरी क्लब अफ कनकाई सुरुङ्गासहित स्थानीय निकायदेखि सबै संघसंस्था यतिबेला प्रखाईमा छ्न् ।

महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू महोत्सवमा समावेश हुने आयोजक संस्थाका अध्यक्ष कँडेलले बताउनुभयो ।
महोत्सवमा स्थानीय विविध जात–जातिहरूको भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको संरक्षणमा महोत्सवले टेवा पुर्याउने कनकाई वासी तथा आयोजक सस्था रोटरी क्लब अफ कनकाई सुरुङ्गाको विश्वास पनि रहेको छ ।
महोत्सवको पहिलो दिन भोलि बिहान ११ बजे सुरुंगा बजारमा प्रभातफेरि गरेर सुरु हुने महोत्सवमा तीन दिनसम्म विभिन्न एक दर्जन भन्दा बढी कार्यक्रमहरू तय गरिएको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिनुभयो । भोलि आयोजकले प्रभातफेरि पछि दैनिक रुपमा फरक–फरक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको क्लबका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो ।
महोत्सव अवधिभरमा साहित्य कोष्टी, ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन प्रशिक्षण, हास्यव्यङ्ग्य सहित सांस्कृतिक कार्यक्रम समेत राखिएको आयोजक संस्थाका अध्यक्ष कँडेलले जानकारी दिनुभयो । हास्यव्यङ्ग्यसहित सांस्कृतिक कार्यक्रम पुस्तक मेला, पुस्तक डोनेशन, स्टलहरुमा व्यवसायिक गतिविधि भने तीन दिन नै सञ्चालन हुने संस्थाका अध्यक्ष कँडेलले जानकारी दिनुभयो ।
अन्य कार्यक्रमहरूमा शिक्षक स्व.साहित्य सर्जकहरूका लागि कविता लेख प्रशिक्षण, जिल्ला स्तरीय साहित्य गोष्ठी, १२ वर्ष उमेर समूहका भागलिन सक्ने गरी कविता वाचन, जातीय भेषभूषा प्रदर्शन र राष्ट्रस्तरको साहित्य गोष्ठी लगायतका कार्यक्रमहरू रहेको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिनुभयो ।
साहित्य महोत्सवमा अग्रज साहित्यकारहरु तुलसी दिवस, अर्जुन पराजुली, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, प्राध्यापक डाक्टर देवी नेपाल, कवि मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हाँस्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल लगायत सुपरिचित स्रष्टा कलाकारहरूको कार्यक्रममा उपस्थित रहने आयोजक संस्थाका पुर्व अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
स्थानीय कला र संस्कृति झल्किने विभिन्न झाँकीका साथ नगरपरिक्रमा गरी समुद्घाटन हुने र राष्ट्रियस्तरका दर्जनौँ कवि, कलाकार, हाँस्यकलाकार, गायक तथा संस्कृतिकर्मीहरूको उपस्थितिमा भव्य समापन गरिने उक्त महोत्सवमा हरेक दिन बिहानदेखि साँझसम्म कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक डोनेसन, राष्ट्रिय वेशभूषा प्रदर्शनी, व्यवसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण आदि कार्यक्रमहरू रहेको प्रचार–प्रसार संयोजक रामप्रसाद निरौलाले जानकारी दिनुभयो ।
स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्यसम्बन्धी बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सुरु गरिएको यस महोत्सवमा विभिन्न चरणका प्रशिक्षणात्मक कार्यक्रमहरू पनि हुने छन् ।
यी तीनवटै प्रशिक्षणमूलक कार्यक्रमको सहजीकरण सिर्जनात्मक लेखनका केन्द्रीय प्रशिक्षक कवि तथा समालोचकद्वय प्रा।डा। देवी नेपाल र प्रा।डा। रामप्रसाद ज्ञवालीले गर्नुहुने भएको छ । आयोजक संस्थाका पुर्व अध्यक्ष पोखरेलले महोत्सवमा जाने सहभागीहरूलाई कुनैपनी प्रवेश शुल्क नलाग्ने पनि स्पष्ट पार्नुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सामाजिक कार्यहरूमा अतुलनीय योगदान दिँदै आएको रोटरी क्लबजस्तो संस्थाले साहित्यिक तथा सांस्कृतिक महोत्सव नै आयोजना गर्नु अत्यन्त प्रशंसनीय कार्य भन्दै कनकाई तथा झापा बासी कार्यक्रम सफल पार्न लागिपरेका छ्न । यस्तो ऐतिहासिक कार्यको प्रशंसा गर्दै र यस कार्यको अनुकरण अन्य संस्थाले पनि गर्नुपर्छ भन्ने सन्देश दिँदै विभिन्न साहित्यकार तथा संस्कृतिकर्मीहरूले खुसी व्यक्त गरिरहेका छ्न। आयोजक सस्थाले महोत्सवमा सहभागी भई सोभा बढाईदिन आवान पनि गरेको छ ।


