
झापा, १४ फागुन । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
आइतबार राति मेचीनगर–६ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ मिक्लाजुङ–९ का २८ वर्षीय डिकबहादुर कार्की र मधुमल्ला तोरीवारीकी २२ वर्षीया नाइरा भन्ने कोशिस तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्र. १–०२–०४१ प. १०३८ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा नाइराले लगाएको कपडा भित्रको भागमा च्यापी लुकाई छिपाई राखेको खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकबाहेक ११ ग्राम ५०० मिलिग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै, मेचीनगर–६ पुरानो मेचीपुलबाट सोही प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको दमक–२ सुनखरीका ३३ वर्षीय प्रविन तामाङ र दमक–२ सुनखरीकी ४५ वर्षीया कलमा तामाङलाई गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उनले लगाएको कपडामा लुकाई छिपाई ल्याउँदै गरेको खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकबाहेक ९ ग्राम ५०० मिलिग्राम फेला पारेको थियो । लागुऔषधसहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।


