
फिदिम, १४ फागुन । चौथो पाँचथर गोल्डकपको सेमिफाइनलमा झापा ११ एफसी प्रवेश गरेको छ ।
झापा ११ छैटौं झापा गोल्डकपको तयारीमा रहेको घरेलु टोली हो । फिदिम माविको मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा इलामको रेडहर्ष एफसीलाई १–० गोलले पराजित गर्दै झापा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
झापा ११ का लागि निर्णायक गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रदिप बुढाथोकीको हेडर गोलमा परिणत भएको थियो । दोस्रो हाफको २४औँ मिनेटमा पाएको फ्रिकिकमा निकेश श्रेष्ठको प्रहारमा प्रदिपले गोल गरेका हुन् । आजको खेलको म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोकी भए । उनले नगद ५ हजार पाए । फ्यान अफ दी म्याच झरना खवास भइन् । उनले नगद २ हजार ५ सय पाए ।
ए डिभिजन क्लब त्रिभुवन आर्मीसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ । गोल्डकपको विजेताले ट्रफीसहित ५ लाख ५ हजार, दोस्रोले दुई लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउने छ ।


