
बिर्तामोड, १४ फागुन । गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएको झापाको अर्जुनधारा नगरपालिका–६ स्थित हिमाली एजुकेशन फाउण्डेशनले विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको छ ।
आज विद्यालय परिसरमा विभिन्न कार्यक्रम गरी फाउण्डेशनले १७ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्की हुनुहुन्थ्यो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि कार्कीले शैक्षिक क्षेत्रको विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले स–साना बालबालिकालाई स्तरीय शिक्षा दिएर योग्य र सक्षम नागरिक उत्पादनमा निजी विद्यालयको योगदान बिर्सन नमिल्ने उल्लेख गर्नुभयो ।

वार्षिकोत्सव समारोहमा विद्यालयकी शिक्षक एसिका राई र कर्मचारी पदम तामाङलाई नगदसहित सम्मान गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा स्टुडेन्ट अफ द इयर कक्षा–७ का लासीम योङ्यालाई ट्रफी प्रदान गरिएको छ । कार्यक्रममा विद्यार्थीले नृत्य, गायन लगायतका प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, सचिव राजेशकुमार आचार्य, विद्यालय अभिभावक संघ अध्यक्ष यामप्रसाद तिम्सिना, दशनामी प्रदेश अध्यक्ष प्रकाश पुरी, समाजसेवी चन्द्रप्रसाद गिरी, अर्जुन गिरी लगायतको आतिथ्य रहेको थियो । विद्यालयका शिक्षक बासुदेव बरालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन अध्ययनरत विद्यार्थीहरुले गरेका थिए ।
नर्सरीदेखि कक्षा–८ सम्म पठनपाठन हुने हिमाली एजुकेशन फाउण्डेशनमा हाल चार सय जना विद्यार्थी अध्ययन गरिरहेको प्रिन्सिपल शान्ता गिरीले जानकारी दिनुभयो । विद्यालयमा ३५ जना शिक्षक/कर्मचारी रहेका छन् । विद्यालय प्याब्सन अर्जुनधाराले आयोजना गरेको खेलकुद प्रतियोगितामा फुटबलतर्फ दोस्रो र नृत्य तर्फ प्रथम भएको थियो ।


