
चन्द्र बस्नेत
कनकाई, १४ फागुन । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा प्रथम कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ ।
सुरुङ्गास्थित पशुपति अंग्रेजी माविको प्रांगणमा आयोजित तीन दिनसम्म चल्ने उक्त कला महोत्सवको उद्घाटन वरिष्ठ कलाकार निर शाहले गर्नुभएको हो । रोटरी क्लब अफ कनकाई सुरुङ्गाको आयोजनामा भइरहेको कला, संस्कृति महोत्सवमा स्थानीयदेखि राष्ट्रिय साहित्यकारहरूले आफ्नो रचना वाचन गर्नेदेखि लिएर कलाकार तथा मूर्तिकार हिम्मत नेम्वाङ र प्राज्ञ पवन राजवंशीको एकल चित्र तथा मूर्तिकला प्रदर्शनीका साथमा साहित्यकारहरू तुलसी दिवस, अर्जुन पराजुली, प्राडा रामप्रसाद ज्ञवाली, देवी नेपाल, मनु मञ्जिल, धीरेन्द्र प्रेमर्षी, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, शिशिर योगीका साथमा कलाकारहरू मनोज गजुरेल र रचना रिमालबाट गीत तथा कविता लगायतका प्रस्तुतीहरू रहने आयोजक समितिका अध्यक्ष शिवकुमार कँडेलले बताउनुभयो ।

साहित्य तथा साङ्गीतिक प्रस्तुति र श्रवणका लागि झापा तथा छिमेकी जिल्ला र काठमाडौँबाट समेत सर्जक दर्शक र स्रोताहरू सहभागी हुने र कार्यक्रमलाई हरेक तीन वर्षमा नियमित गरिने आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले बताउनुभयो ।
साहित्य महोत्सवको उद्घाटन गर्नुहुँदै कलाकार निर शाहले मानवजातिको उत्थान र प्रवर्द्धनमा मानव अधिकारकै रूपमा कला संस्कृतिको समेत बराबरी महत्त्व हुने भन्दै यस्ता कला महोत्सवबाट मानव जीवनले उत्प्रेरणा प्राप्त गर्ने बताउनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, समाजसेवी शेरबहादुर थापा लगायतले कला विना मानव जीवनको महत्त्व अन्धकार हुने भन्दै कलालाई मानव जीवनसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।
महोत्सवमा स्थानीय विविध जात–जातीहरूको भेषभूषा, संस्कृतिलाई एकीकृत गरी नागरिक एकताको सन्देश दिन जातीय पहिचानको संरक्षणमा महोत्सवले टेवा पुर्याउने कनकाईबासी तथा आयोजक संस्था रोटरी क्लब अफ कनकाई सुरुङ्गाको विश्वास पनि रहेको र दैनिक रुपमा फरक–फरक कार्यक्रम सञ्चालन भइरहेको क्लबका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो ।
महोत्सवमा हरेक दिन बिहानदेखि साँझसम्म नै कला प्रदर्शनी, पुस्तक मेला, पुस्तक डोनेसन, राष्ट्रिय वेशभूषा प्रदर्शनी, व्यवसायिक प्रमोसन, सांस्कृतिक कार्यक्रम, स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण आदि कार्यक्रमहरू रहेको प्रचार–प्रसार संयोजक रामप्रसाद निरौलाले जानकारी दिनुभयो ।
स्थानीय तहको साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय स्तरका प्रतिभाहरूसँग जोडेर प्रचारप्रसार गर्ने र नयाँ पुस्तालाई कला, साहित्यसम्बन्धी बोध गराउँदै सिर्जनात्मक कार्यमा लाग्न उत्प्रेरित गर्ने उद्देश्यका साथ सुरु गरिएको यस महोत्सवमा विभिन्न चरणका प्रशिक्षणात्मक कार्यक्रमहरू पनि हुने छन् ।
दोस्रो, दिन भोलि १५ गते विभिन्न विद्यालयका शिक्षकहरू, स्थानीय स्रष्टाहरू तथा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थी लक्षित ‘कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रम’को आयोजना गरिने छ । यसरी नै तेस्रो दिन पर्सी १६ गते बिहान १२ वर्षमुनिका बालबालिकाका बीचमा अग्रज कविहरूद्वारा लिखित छन्द कविताहरूको वाचन कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष कँडेलले बताउनुभयो ।
प्रशिक्षणमूलक कार्यक्रमको सहजीकरण सिर्जनात्मक लेखनका केन्द्रीय प्रशिक्षक कवि तथा समालोचकद्वय प्राडा देवी नेपाल र प्राडा रामप्रसाद ज्ञवालीले गर्नु हुने भएको छ । आजै स्थानीयदेखि राष्ट्रिय कलाकार तथा पशुपति अंग्रेजी मावि समेतका विद्यार्थीहरुले नृत्य लगायतका कलाकारिता प्रस्तुति गरिएको थियो ।
कनकाई सुरुङ्गाका विभिन्न स्थानहरु बाणिज्य संघ, कनकाई बहुमुखी क्याम्पस लगायतमा साहित्य महोत्सवको आयोजना गरिने रोटरी क्लबका पुर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो । महोत्सव सुरु हुनुपुर्व आजै बिहान सुरुङ्गा बजार सरसफाई गर्नुका साथै दिउँसो प्रभातफेरि कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा कनकाईका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरु, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, शिक्षाविद, संस्कृतिक विद, विभिन्न विद्यालयका प्रधानध्यापक तथा शिक्षक प्रतिनिधि, शुभचिन्तक, सुरक्षाकर्मी एवम् सञ्चाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।


