
अर्जुनधारा, १४ फागुन । झापाको अर्जुनधारा नगरपालिकामा लोक सेवा आयोग तयारी कक्षा शुरु भएको छ ।
नगरपालिकाको सामाजिक विकास शाखाको आयोजना र बिर्तामोडस्थित नोभा फाउण्डेशनको सहजीकरणमा लोक सेवाको तयारी कक्षा शुरु भएको हो । चालु आर्थिक वर्ष ०८०÷०८१को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार सञ्चालन भएको उक्त तयारी कक्षाको कार्यक्रमका सभाध्यक्ष एवम् उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

७० दिनसम्म सञ्चालन हुने कक्षामा ७५ जना बढी युवाको सहभागिता रहेको शाखा प्रमुख राजविक्रम खड्काले जानकारी दिए । तयारी कक्षामा सहजकर्ताहरु डा।टोकराज पाण्डे, डिजन भट्टराई, बद्री कार्की, प्रयास भट्टराई, राजेन्द्र निरौलालगायतले सहजिकरण गर्ने बताइएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहन ओली र फाउण्डेशनका सञ्चालक प्रकाश पराजुलीले मन्तव्य राखेका थिए । नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशीलाल परियारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी पूष्पा पौडेलले गरेकी थिइन् ।


