
शिवसताक्षी, १४ फागुन । झापाको शिवसताक्षीमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति झापाले सामुदायिक भवनको उद्घाटन गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच पूर्व प्रदेश मन्त्री झलकसिं दर्लामी र शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त सामुदायिक भवनको उद्घाटन गरेका हुन् । भवन प्रदेश सरकारबाट विनियोजित २५ लाखको लागतमा निर्माण भएको आदिबासी जनजाति महासंघले जनाएको छ ।
भवन उद्घाटन गर्दै पूर्व मन्त्री दर्लामीले यसअघि आदिबासी जनजातिको भवन जीर्ण अवस्थामा रहेको र त्यसको मर्मतका लागि बजेट विनियोजन भएको बताए । पुरानो भवनमा जीर्ण भएकाले तला थप्न नमिल्ने भएकाले सोही स्थानमा उक्त रकमले नयाँ भवन निर्माण गरिएको जानकारी दिए ।
त्यस्तै, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले सरकारले करोडौं खर्च गरेर बनाइएका संरचनाको संरक्षणका अभावमा जीर्ण अवस्थामा पुग्नु दुःखद भएको बताए । उनले शिवतसाक्षी नगरपालिकाले भवन भित्र आवश्यक पर्ने सामग्रीहरु प्रदान गरिएको जानकारी दिए । नगरप्रमुख थोप्राले भवनको अगाडी आउदो वर्ष इटरलक ब्लक लगाउने योजना रहेको समेत बताए ।
यसैबीच, आदिबासी जनजाति महासंघ समन्वय समितिले पूर्व मन्त्री झलसिं दर्लामी, नगर प्रमुख मेगाहाङ्ग थोप्रासहित भवन निर्माणमा सहयोग गर्ने दर्जन बढीलाई सम्मान गरेको छ । उनीहरुलाई आदिबासी जनजाति महासंघ, कावा अध्यक्ष केवल राम राईलगायतले सम्मान गरेका हुन् ।


