
भद्रपुर, १६ फागुन । झापाको भद्रपुर नगरपालिकामा २१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ ।
आगामी फागुन २० देखि २९ गतेसम्म नगरका ९ महिनादेखि १५ वर्षमुनीका २१ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको हो । अभियानबारे जानकारी दिन आज नगरको स्वास्थ्य शाखाले पालिका स्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा अभिमुखीकरण गोष्ठी भएको हो ।

नगरप्रमुख पोखरेलले दादुरा–रुबेला खोप अभियानलाई सफल बनाउन अधितम् प्रयास गर्ने बताउनुभयो । उहाँले नगरका १०४ वटै टोल विकास समितिहरुसँग छलफल गरी अभियान सफल बनाइने बताउनुभयो । बैशाखा नयाँ विद्यार्थी भर्ना गर्ने क्रममा खोप कार्ड अनिवार्य गरिनुपर्ने सुझाव समेत आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा अभियानबारे जानकारी दिँदै स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले खोप प्रमाणित एवम् सुरक्षित भएको बताउनुभयो । उहाँले खोप लगाएपछि सामान्य एलर्जी देखिए पनि केही नुहने बताउनुभयो l

नगरमा खोप अभियान सञ्चालनका लागि ६८ वटा खोप केन्द्र निर्धारण गरिएको नगरका स्वास्थ्य शाखा अधिकृत शान्तिराम भट्टराईले जानकारी दिनुभयो । अभियानमा १९ जना खोपकर्मी र १३३ जना स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने उहाँले बताउनुभयो ।
नगरप्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनि निरौला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मनोज भट्टराईले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



