
चन्द्र बस्नेत
कनकाई, १६ फागुन । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयमा डिल्ली गौतम स्मृति प्रतिष्ठानले निःशुल्क आँखा तथा दन्त शिविर सञ्चालन गर्ने भएको छ ।
आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी फागुन १७ गते र १८ गते आँखा तथा दन्त शिविर आयोजना गरिने आयोजक संस्था डिल्ली गौतम स्मृति प्रतिष्ठानका अध्यक्ष रविन्द्र लम्सालले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै झापा क्षेत्र नं. ४ का सघिंय सासंद एलपी साँवा लिम्बूले आफ्नो क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य तथा सक्षम बनाउने उद्देश्यले आफूहरुको अगुवाइमा संकल्प प्रतिष्ठानले डिल्ली गौतम स्मृति प्रतिष्ठानसँगको सहकार्य, काठमाडौं विएम फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर आयोजना गर्न लागिएको बताउँनुभयो ।
कन्काइ माविका २ हजार ४ सय विद्यार्थीहरुलाई शिविरबाट प्रत्यक्ष सेवा दिने लक्ष्य राखिएको आयोजक संस्थाका विनोद रानाले जानकारी दिनुभयो । प्राविधिक सहयोग गर्ने कान्तिपुर डेन्टल कलेज तथा टिचिङ्ग अस्पताल काठमाडौंका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ तथा आँखा रोग विषेशज्ञ डा. आरती थापाले सेवाको बारेमा जानकारी दिदै नेपालमा दन्त तथा आँखाको समस्या गम्भीर रुपमा देखिएकोले आफुहरुले शिविर मार्फत उपचारमा सहयोग गर्दै आइरहेको बताउनुभयो । २ हजार ४ सय भन्दा बढी विद्यार्थी रहेको कनकाई माविमा दाँत तथा आँखाको परीक्षण र उपचारको लागि २० जना भन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने जनाइएको छ ।
परीक्षणमा गम्भीर समस्या भएको भेटिएमा उपचारको लागि नजिकका अस्पतालसँग सहजीकरण गरिने पनि डा. श्रेष्ठले जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा कनकाई माविका सञ्चालन समिति अध्यक्ष चन्द्र प्रसाईं लगायतको उपस्थित थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



