
बिर्तामोड, १७ फागुन । झापामा आजदेखि दादुरा–रुबेला खोप अभियान शुरु भएको छ ।
कनकाई नगरपालिकास्थित आदर्श विद्या मन्दिर आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले खोप अभियानको उद्घाटन गर्नुभयो । कनकाई नगरपालिकामा आजदेखि फागुन ३० गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ । कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापाका अन्य पालिकामा फागुन २० गतेदेखि ३० गतेसम्म अभियान सञ्चालन हुने बताउनुभयो । जिल्लाभरि भने चैत ४ गतेसम्म अभियान सञ्चालन हुनेछ ।
कनकाईमा ९ महिनादेखि १५ वर्ष मुनिका छ हजार ७ सय ५६ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले जानकारी दिनुभयो । खोप अभियानमा ५३ जना खोपकर्मी र एक सय ६० जना स्वास्थ्य स्वयम्सेविका परिचालन हुने उहाँले बताउनुभयो ।
यता, जिल्लामा तीन लाख १४ हजार चार सय १३ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ ।
जिल्लाव्यापी खोप अभियानका लागि स्वास्थ्य संस्थाबाहेक नौ सय ४७ खोपकेन्द्र निधारण गरिएको छ । अभियानताका तीन सय ६९ खोपकर्मी, एक हजार सात सय १७ जना स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो । जिल्लामा खोप अभियानका सञ्चालन गर्न दुई लाख ७० हजार थान भ्याक्सिनसमेत आइसकेको छ ।
झापामा सन् २०१९ र २०२३ मा अभियान असफल भएकाले पुनः खोप अभियान सञ्चालन गरिएको जनाइएको छ । सरकारले समेत मुलुकबाट सन् २०२६ मा दादुरा–रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



