
बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोड–४ मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–८ को सह–आयोजना, नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग तथा समाजिक व्यक्तित्व सूर्यप्रसाद रिमालको सहकार्यमा मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारीस्थित देवकोटा माध्यमिक विद्यालय परिसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तरगत आम नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन शिविर सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिनुभयो ।
शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा परिक्षण तथा उपचार, दन्त सेवा, भिडियो एक्स–रे सेवा, इ.सी.जी. सेवा, ल्याबको सुविधा रहेको थियो ।
विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परीक्षण गरिनु साथै निःशुल्क औषधिसमेत वितरण गरिएको सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई जानकारी दिनुभयो । शिविरमा २८१ जना महिला र १६४ पुरुष गरी जम्मा ४४५ जनाले सेवा लिएका छन् ।
शिविरमा उपचार हुन नसकेका ५५ जना बिरामीलाई नोबेल मेडिकल कलेज विराटनगरमा विशेष छुट तथा सुविधाका साथमा उपचारका लागि रेफर गरिएको नोबेल मेडिकल कलेजका चिफ मार्केटिङ्ग अफिसर नविन दाहालले बताउनुभयो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको शिविरमा मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवरको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा संस्थाका सचिव इन्द्रबहादुर कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका विभागीय प्रमुख प्रेम बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



