
बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोड–४ स्थित आरआर पोलिक्लिनिकमा मानसिक रोगको निःशुल्क स्वास्थय शिविर हुने भएको छ ।
छाला रोगको विशेषज्ञ सेवा प्रदान गर्दै आएको पोलिक्लिनिकले मानसिक रोगको विशेषज्ञ सेवा थप गरेसँगै चैत १ गतेदेखि ७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । आज पोलिक्लिन परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी साताव्यापी रुपमा मानसिक रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा पोलिक्लिनिकका सञ्चालक महेन्द्रबहादुर राईले मानसिकको उपचारका लागि भारत र जिल्ला बाहिर जानुपर्ने बाध्यताको रहेको बताउनुभयो । सो बाध्यता अन्त्य गर्नका लागि सेवा थप गरेसँगै निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको बताउनुभयो । मेडिकल क्षेत्रमा लामो अनुभव सम्हालेको बताउँदै उहाँले मानसिकको रोगको शिकार भएर धेरै मानिसले आत्महत्या समेत गर्ने गरेको उल्लेख गर्नुभयो । त्यसको न्यूनीकरण र सहज उपचारका लागि पोलिक्लिनिकमा सेवा थप गरेको उहाँको भनाइ छ । ‘अन्यत्रै गएर धेरै पैसा खर्च गरेर स्वास्थ्य सेवा लिन बाध्य छन्’, उहाँले भन्नुभयो, ‘सहज र सुलभ दरमा सेवा दिने उद्देश्य छ ।’
पोलिक्लिनिकमा मानसिक रोग विशेषज्ञ डा. बबिता शर्माले सेवा दिनुहुनेछ । डा. शर्मा भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा चार वर्ष काम गरेर नेपाल आउनुभएको हो । ‘भारत धेरै नेपाली उपचारका लागि आउनुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘उहाँले बारम्बार तपाईं नेपालमा कहिले आउनुहुन्छ भन्ने प्रश्न गर्नुहुन्थ्यो, स्वदेशमै बसेर सेवा गर्ने उद्देश्यले पनि नेपाल आएकी हुँ ।’ पछिल्लो समय विश्वमै मानसिक रोग भयावह रुपमा देखिँदै गएको उहाँले बताउनुभयो । गुणस्तरी सेवा दिन दैनिक १५ देखि २० जना बिरामीको परीक्षण गरिने उहाँ बताउनहुन्छ । उचित परामर्शले पनि आधा मानसिक रोग निको हुने र बाँकी औषधि लगायतले ठिक हुने उहाँ बताउनुहुन्छ ।
माग र आवश्यकताका आधारमा स्वास्थ्य शिविरको अवधि थप हुन सक्ने र शिविर अवधिभर विशेष छुट समेत दिइने जनाइएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



