
उदयपुर, १ चैत । उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका–२ का ४२ वर्षीय मानबहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका–९ का ६८ वर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई, र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकरीको घटनास्थलमा र हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राईको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ वर्षीय विशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका–२ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका–१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सबिना परियार, इटहरी–१७ सुनसरीकी ३४ वर्षीया गायित्री कट्वाल, उनकै ८ वर्षकी छोरी निकिता कट्वाल र इटहरी–१७ की २९ वर्षीया रमा थापाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


