
झापा, २ चैत । झापाको झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले यहाँस्थित अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) प्रदान गरेको छ ।
आगामी नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना दर बढ्ने विश्वासका साथ वडा कार्यालयले विद्यालयलाई ई–रिक्सा प्रदान गरिएको वडाध्यक्ष सन्तकुमार फेउदिनलले जानकारी दिनुभयो । वडाध्यक्ष फेउदेनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई ई–रिक्सा हस्तान्तरण गर्नुभएको थियो ।
विद्युतीय रिक्साले टाढा–टाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म आउन–जान सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक तारा लावतीले बताउनुभयो । विद्यालयले विद्युतीय रिक्सा सञ्चालनका लागि सोही विद्यालयका एक विपन्न अभिभावकलाई जिम्मा दिने जनाएको छ ।
विद्यार्थी ओसारे वापत उनले कुनै पारिश्रमिक विद्यालयबाट नलिने प्रधानाध्यापक लावतीले बताउनुभयो । “बिहान बेलुका विद्यार्थी बोक्नुहुन्छ, दिउँसो यात्रु बोक्नु हुन्छ”, उहाँले भन्नुभयो, “दिउँसो यात्रु बोकेवापत उहाँले विद्यालयलाई दिनहुँ तीन सय भुक्तानी गर्नुहुन्छ ।”
नर्सरीदेखि कक्षा–१ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन हुने सो विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि कक्षा–२ सम्म अंग्रेजी माध्यमबाट अध्यापन हुने जनाइएको छ ।


